काभ्रे — काभ्रेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगर पनौतीमा प्रथम सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरु भएको छ ।
‘नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ पनौती उद्योग वाणिज्य संघको सहकार्यमा, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा, पनौती नगरपालिका-७ को संरक्षकमा र संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा बिहीबारबाट महोत्सव सुरु भएको हो ।
वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गरे ।
महोत्सव उद्घाटन गर्दै पनौती नगरपालिकाका प्रमुख भण्डारीले स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनका अनुसार, महोत्सवले मौलिक संस्कृति जोगाउनमात्र होइन, यहाँको पर्यटन र आर्थिक विकासमा पनि टेवा पुर्याउने विश्वास छ ।
पनौती नगरपालिकाकी उपप्रमुख गीता बञ्जाराले पनौतीको पहिचान उजागर गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताइन् । उनका अनुसार, यहाँका परम्परागत सम्पदा, मौलिक लोक संस्कृति र व्यवसायलाई प्रवर्द्धन गर्न महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु ।
महोत्सवले पनौतीको गौरवमय इतिहासलाई उजागर गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्नुको साथै पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्य महोत्सवले राखेको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाले बताए । महोत्सवले ऐतिहासिक क्षेत्र पनौतीलाई चिनाउन, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र पनौतीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताए ।
महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरु रहेको, बालबालिकाको मनोरञ्जनका लागि आधुनिक बालउद्यानको व्यवस्था गर्नुका साथै प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
