पानी नहुँदा खेत बाँझै : मुहान खोज्दै हैरान

चैत्र २०, २०८१

अनिश तिवारी

The field is barren because of lack of water: looking for a spring, confused

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–९ राम्चेमा अर्चलेभन्दा माथिल्लो भेगका लोभलाग्दा फाँट बाँझा र उराठलाग्दा बनेका छन् । वर्षदिन अघि यहाँ यतिबेला तोरी र तरकारीका बोटले सजिने गर्थ्यो । पर्याप्त वर्षात नहुँदा नजिकैको अँधेरी खोलामा समेत पानी छैन।

पुराना पानीका मुहान पनि क्रमशः सुक्दै आएपछि स्थानीयले पानीको अभावमा आफ्नो खेत बाँझो राखेका हुन्।पानी नपरेर खडेरी लम्बिरहेपछि ढुंगेधाराको पानी खेतमा लैजान हानथाप हुने गरेको बाह्रबिसे नगरपालिका-९ का लालबहादुर पौडेलले दुखेसो गरे।

‘यो बाँझो राख्नुको मुख्य कारण पानी नहुनु नै हो, त्यसमाथि लामो समयदेखि वर्षात भएन, यहाँ खानेपानी नहुँदा हाहाकारको अवस्था बन्न थालेको छ, पानीको मुल सुकेपछि खोला पखेरामूनि कुदाकुद गरेर मुहान खोज्दै हिड्नुपर्छ,’ उनले भने । पानी अभावका कारण यहाँका खेतमा उम्रिएको तरकारी सुकेर बिग्रिन लागेका छन् ।

उता पानी पर्ला र आफ्नो उब्जनी हरियाली छाउने आशमा बसेका स्थानीय हाल हताश अवस्थामा पुगेका छन् । अर्चले माथिल्लो भेगमा ४० रोपनीभन्दा बढी जमिन बाँझो राखिएको छ । उता सहेले र तीभन्दा माथिल्ला गाउँमा पानीको उस्तै हाहाकार अवस्था छ । सहेले खेत, डाँडाबारी, सेतीदेर्वी मन्दिरक्षेत्रका जमिन अहिले सुक्खा र लगभग बाँझो छन् ।

०७२ काृ भूकम्प र पराकम्पनअघि यहाँ कोदो, मकै र फलफुलका बोटले सजिएको सम्झँदा यहाँका कृषक चक्रध्वज तिवारीलाई सपनाजस्तै लाग्छ । ‘भूकम्पअघि यहाँ दर्जनौं घर थियो आर्कषक सहेले बस्तीमा घर थिए, भूकम्पपछि पुनर्निर्माणको तरखरमा लाग्दा पानीको समस्याले बस्ती तितरबितर भयो, सबै पानी र अन्य सुविधाका लागि उर्बरखेतमा घर बनाएर बस्न बाध्य बने,’ तिवारीले भने ।

यहाँका सहेले, अर्चले, ढोडेनी, साउँबेसीका गरी १४ परिवार पानीको सकसमा छन् । जनमुखी कृषक समुहकी अध्यक्ष बाह्रबिसे ९ की सिर्जना खड्का सिचाईका पानीको समस्या बोकेर जनप्रतिधिलाई अनुरोध गर्दागर्दै हैरान भएको बताइन् । ‘यहाँको दशमुरे फाटमा हिउदे कमाइ गर्न सकिएको छैन्, केहीले पानी र सिचाई अभावका कारण खेती गर्न पाएका छैनन्,’ उनले भनिन् ।

यहाँका २९ परिवार सिचाई र पानीको अभावमा प्रताडित बनेको उनले जनाइन् । कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार आकाशे पानीको भर पर्नु पर्ने समस्याले अधिकांश स्थानमा खेतीयोग्य जमिन बाँझै बनेका छन् । सदरमुकाम चौतारा, अरनिको राजमार्गका आसपास पनि अधिकांश खेतीयोग्य जमिन बाँझै छ ।

धानका लागि उर्वरभूमि मानिएको जलवीरे खण्ड, पश्चिमी मेलम्ची भेगमा समेत किसानले जमिन बाँझै राखेका छन् । बतासे, स्याउलेका जमिनको अवस्था पनि उस्तै छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ७३ हजार ७ सय १० हेक्टर जमिन खेती गर्न लायक छ ।

योमध्ये ४७ हजार ४ सय हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ । यो तथ्यांकअनुरुप जिल्लामा ३६ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ । हाल खेती भइरहेको जमिनमध्ये ८ प्रतिशतमा वर्षैभरि, २५ प्रतिशतमा मौसमी गरि कुल ३३ प्रतिशतमा सिंचाई सुविधा छ । केही वर्षदेखि जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully