बागमती प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

चैत्र २०, २०८१

सुवास विडारी

Recommendation to end session of Bagmati Province Assembly

मकवानपुर — बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारले संसद्‌को हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राति ११:५९ बजेबाट संसद्‌को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम संसद्‌को अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको उनले बताए ।

प्रदेश सभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको उनले बताए । संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद् प्रभावित भएको थियो । दलगत रुपमा उठेका मुद्दालाई समेट्ने सरकारको प्रतिबद्धता रहे पनि प्रतिपक्षी दलबाट सकारात्मक पहल नहुँदा समस्या भएको उनले बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully