हेटौंडा उपमहानगरपालिकाले अटिजम विद्यालय सञ्चालन गर्ने

चैत्र २०, २०८१

सुवास विडारी

Hetounda sub-metropolitan city will operate an autism school

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले अटिजम भएका बालबालिकाको सहजताका लागि विद्यालय सञ्चालन गर्ने भएको छ । विश्व अटिजम जनचेतना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले हेटौंडा–११ थानाभर्‍याङमा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गरिने बताइन् ।

उपमहानगरले महिलाका लागि भवन निर्माणको काम गरिरहेको स्थानसँगै विद्यालय सञ्चालनको तयारी थालिएको उनले जानकारी दिइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी स्कुलले चर्को शुल्क असुलेको गुनासो गरेपछि अब सबै खालका परिवारलाई लक्षित गर्दै उपमहानगरले विद्यालय सञ्चालन गर्न लागेको बताइन् ।

जनचेतना दिवसको सन्दर्भमा हेटौंडा ४ मा रहेको सेन्टर फर अटिजममा भएका बालबालिकाको अभिभावकसँगको कार्यक्रममा मेयर लामाले नजिकबाट यस विषयमा जानकारी नलिँदा सबैलाई उस्तै सोच्ने गरेकाले अहिले समस्या देखिएको बताइन् । उनले अब सुधार गरेर जाने पक्षमा रहेको बताइन् । अटिजम र शारीरिक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा अहिले समस्या देखिएको बताइन् ।

‘नगर क्षेत्रमा रहेका सबै खालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरियो अहिले फरक खालको विषय उपमहानगरसम्म आएको छ यसलाई सुधार्ने छौं,’ उनले भनिन् ।  अहिले आफ्ना बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी, निजी विद्यालयका कक्षामा राखेपछि समस्या झनै बढ्दै जाने भएकोले यो विषयमा अभिभावक आफैं सचेत भएर बालबालिकाको अवस्था बुझ्न जरुरी रहेको उनले सुझाव दिइन् ।

अटिजमको समस्यालाई समाधान गर्न उपमहानगरले व्यवस्थित विद्यालय सञ्चालनका लागि गृहकार्य गरिरहेको उनको भनाइ थियो । अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जना बालबालिका अध्ययन गर्दै आएका छन् । सेन्टर फर अटिजमका उपाध्यक्ष शेखर थपलियाले अभिभावकले बालबालिकाको अवस्था नबुझ्दा समस्या भइरहेको बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully