सामूहिक बलात्कार आरोपमा ७ किशोरसहित ८ जना पुर्पक्षका लागि थुनामा

चैत्र २०, २०८१

प्रताप विष्ट

8 people, including 7 juveniles, have been remanded in custody on charges of gang rape

हेटौंडा — हेटौंडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले सात किशोरसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा हटौंडा उपमहागनगरपालिका–१४ का १८ वर्षीय सुजितकुमार लामालाई पुर्पक्षका लागि भीमफेदी कारागार पठाउने आदेश गरेको छ । 

यसैगरी बलात्कारमा संलग्न रहेको आरोपमा अदालतले सात जना किशोरलाई बालसुधार गृह हेटौंडामा पठाउने आदेश गरेको जिल्ला अदालत मककवानपुरले जनाएको छ ।

गत माघ ६ गते हेटौंडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको अधारमा ८ जनालाई प्रहरीले फागुन २२ गते पक्राउ गरेको थियो । 

उक्त घटनामा आरोपी तीन जना किशोर अझै फरार छन् । किशोरीले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । किशोरीकै जाहेरीको आधारमा ८ जनालाई प्रहरी पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका किशोर र जाहेरी दिएकी किशोरी  हेटौंडास्थित एक क्याम्पसका विद्यार्थी हुन् । पीडित किशोरी स्नातक र किशोरहरु दस जोड दुईको विद्यार्थी  हुन् ।

प्रताप विष्ट

Link copied successfully