बागमती प्रदेशमा २०८२ मा थप चार दिन सार्वजनिक बिदा

चैत्र १९, २०८१

प्रताप विष्ट

Four more days of public holiday in Bagmati Province in 2082

हेटौंडा — बागमती प्रदेश सरकारले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक बिदा थप्ने भएको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाईजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय गरिएको हो । 

मन्त्रिपरिषदले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्नेसमेत उनले बताए । विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । 

उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद् बैठक बस्नुपर्ने अवस्था नरहने सरकारका प्रवक्ता लामिछानेले बताए । बागमती प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागू हुने उनले बताए ।

विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद् बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो ।

प्रताप

Link copied successfully