चितवन — खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने भएको छ। ६ महिना पूरा भई तीन वर्ष उमेरका विपन्न परिवारका बालबालिकाले यस्तो अनुदान पाउने छन्।
बालबालिकालाई दैनिक एउटा अण्डा र एक गिलास दूध बराबरको अनुमानित रकम ४० रुपैयाँका आधारमा अनुदान दिन लागिएको हो। अनुदान पाउने बालबालिकाका अभिभावकहरूको बैंक खातामा महिनाको एक हजार दुई सय रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।
खैरहनीमा स्थायी रूपमा बसोबास गर्ने अति विपन्न घरपरिवारका बालबालिकाको पोषणमा सुधार ल्याउन यो योजना सुरु गरेको खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले जानकारी दिए। मेयर खनियाले यो वर्षका लागि ९७ जना विपन्न बालबालिका पोषण अनुदानका लागि छनोट भएका जानकारी दिए। अभिभावकको खातामा जाने अनुदान रकम दुरुपयोग नहोस् भन्नका लागि कडा अनुगमन हुने पनि उनले बताए।
उपमेयर कविता उप्रेतीले दुई वर्षसम्म बालबालिकाको ८० प्रतिशत र पाँच वर्षसम्म ९० प्रतिशत मानसिक विकास हुने र मानसिक तथा शारीरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्त्व रहेको हुँदा पोषण अनुदान सुरु गरिएको बताइन्। नगरपालिकाले लाभग्राही बालबालिकाको पोषणको अवस्था र स्वास्थ्य परीक्षण तथा अभिभावकलाई पोषणको महत्त्वसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको थियो।
यो वर्ष छनोट भएका ९७ जना विपन्न बालबालिकालाई मासिक रूपमा अनुदान रकम उपलब्ध गराउन आवश्यक सबै तयारी सम्पन्न भएको नगरपालिकाले जनाएको छ। यो अनुदानको लागि वार्षिक करिब १५ लाख रुपैयाँ खर्च हुने र आगामी वर्षदेखि वार्षिक २० लाखभन्दा बढी रकम अनुदानमा खर्च हुने प्रक्षेपण रहेको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले बताए।
