युवतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

चैत्र १६, २०८१

ज्योती श्रेष्ठ

The accused who killed the girl and was absconding was arrested

काभ्रे — युवतीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीया भरत बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

उनलाई प्रहरीले गोप्य सूचनाको आधारमा चैत्र १४ गते पर्सा जिल्लाको विरगन्ज  महानगरपालिका वडा न.१६ को विरगन्ज भन्सार कार्यालय गेट अगाडि भारतको रक्सौलबाट नेपालको विरगन्जतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार, फागुन १५ गते काभ्रे जिल्लाको बनेपा नगरपालिका–८ स्थित होटल भ्यु एण्ड पाहुना घरको कोठा नम्बर ११५ मा शर्मिला श्रेष्ठ मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानपश्चात प्रहरीले फरार रहेको अभियुक्तको खोजी तीव्र पारेर उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

पक्राउ परेका उनीमाथि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चैत्र १४ गतेबाटै लागु हुने गरी पहिलो पटक दिन ५ दिनको म्याद थप अनुमति भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully