सवारी दुर्घटनामा मृत्यु भएपछि मनहरीमा स्थानीयले गरे सडक अवरुद्ध

चैत्र १५, २०८१

सुवास विडारी

Locals blocked the road in Manahari after he died in a road accident

मकवानपुर — सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा प्रदर्शन गरेका छन् ।

मनहरी गाउँपालिका-६ लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेका छन् । 

आन्दोलनकारीले सडकमा अवरोध सिर्जना गरी घटनाको छानबिन गर्नुपर्ने र क्षतिपूर्तिको विषय तत्काल टुंगो लगाउनुपर्ने माग राखेका छन् । प्रहरी र प्रशासनले सडक खुलाउन प्रयास गरिरहेका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका-४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । बस र भ्यानको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

भ्यानमा चालक कोइराला मात्र थिए । दुवै सवारी साधन तीव्र गतिमा आएका थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । 

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully