नवौं भक्तपुर महोत्सव चैत्र २८ देखि

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

9th Bhaktapur Festival from Chaitra 28

भक्तपुर — प्रसिद्ध विस्काः जात्रा तथा नववर्ष २०८२ को अवसरमा भक्तपुर महोत्सव हुने भएको छ । ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नारासहित सल्लाघारीको तीनकुनेस्थित चौरमा महोत्सव हुन लागेको हो। आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले चैत २८ देखि बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने बताए।

 'नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव ११ दिनसम्म संचालन हुनेछ,' उनले भने। महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु हुनेछन्।

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ । मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछन् । 

महोत्सवमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी छ। मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

कान्तिपुर

Link copied successfully