काभ्रे — कफी उत्पादनका लागि पकेट क्षेत्र मानिने काभ्रेको खानीखोला गाउँपालिकाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय, खानीखोला गाउँपालिका र समुदायको साझेदारीमा खानीखोला-२ स्थित फलामेटारका किसानलाई अनुदानस्वरूप कृषि सामग्री वितरण गरिएको हो ।
'एक वडा, एक कफी उत्पादन' अन्तर्गत काभ्रे जिल्ला कृषि विकास कार्यलयबाट ६० प्रतिशत, खानीखोला गाउँपालिकाबाट २० प्रतिशत र समुदायबाट २० प्रतिशत गरी अनुदानमा किसानलाई ३ वटा कफी मेसिन, १५ वटा मिनी टेलर, ४० वटा स्प्रे पम्प लगायतका सामग्रीहरु वितरण गरिएको हो ।
केही वर्षयता यहाँका किसान कफी खेतीमा आकर्षित हुँदै गएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । कफी प्रवर्द्धनका लागि कृषि सामग्री वितरण गरिएको उनको भनाइ छ ।
कफीको पकेट क्षेत्रमा राम्रो उत्पादन हुँदै आएकाले कृषि सामग्री वितरणमा कार्यालयबाट सहयोग गरिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २७७ हेक्टर क्षेत्रफलमा ५९ मेट्रिक टन कफी उत्पादन भएको थियो । २०७९/८० मा २८५ हेक्टर क्षेत्रफलमा ६२ मेट्रिकटन र २०८०/८१ मा २८५ हेक्टर क्षेत्रफलमा ६२ मेट्रिकटन कफी उत्पादन भएको कार्यालयको तथ्यांक छ ।
