चितवन — सआदत हसन मन्टोले लेखेको कथामा आधारित रहेर भारत केरलाका नाट्यकर्मीहरुले प्रस्तुत गरेको नाटक ‘तमाशा’सँगै नारायणगढमा जारी ‘प्रथम चितवन अन्तर्राष्ट्रिय महोत्सव–२०८१’ समापन भएको छ ।
मंगलबार साँझ ६५ मिनेट लामो ‘तमाशा’ धैर्यतापूर्वक हेरेका चितवनका दर्शकहरुले त्यसअघि सांगितिक कार्यक्रमको आनन्द लिन र उम्दा १० कविता सुन्न पनि पाएका थिए ।
कक्षा ३ मा पढ्ने सुभान्सी बस्नेत थापाले लेखक डा. जीवन क्षेत्रीको चर्चित पुस्तक ‘नुन तेल’ मा रहेको रुख सम्बन्धी एउटा कविता पढेर सुनाएपछि नारायणी कलामन्दिरको प्रेक्षालयमा चितवनका पाका कवि पोषराज पौडेल ‘आमा’ शीर्षकको कविता सुनाउन पुगे । त्यसपछि यो सिलसिलालाई विनिता गुरुङले अलि फरक तरिकाले जोडिन् । गुरुङले ‘अब म जानु नै पर्दछ’ शीर्षकको कविता सुनाउँमा बाँसुरीको धुन पनि गुञ्जियो ।
धुनसँगै विनिताको आडमा रहेकी उनकी साथी समिरा सुनारले कविताको बीचबीचमा नारायण गोपालका सुमधुर गीतका केही पंक्ति पनि गुनगुनाइन् । युवा कवि विनिताको कविता बाचनको यो नौलो प्रयोग धेरैले रुचाए । त्यसपछि माया कोन्मे गुरुङ ‘म हिँडेको बाटो हराएको छ’ भन्न आइन् । भैरवीले ‘छोरा जन्माउन कहाँ सजिलो छ र’ सुनाएपछि जीएस पौडेलले ‘प्रिय कवियत्री’ पस्किए ।
एकदेव रिमालले ‘सिर्जन शक्ति’, र डा. जीवन क्षेत्रीले ‘भान्सामा यो के को गन्ध’ वाचन गरेपछि सरिता तिवारीले ‘आमा एक्लै हुनुहुन्छ’ र भूपिन खड्काले अन्योलग्रस्त वर्तमान राजनैतिक परिदृश्यलाई लक्षित गर्दै ‘नयाँ महाभारत’ पढेपछि कविताको क्रम पूरा भएको थियो । त्यसपछि मञ्चमा चितवनका गुरुङ समुदायहरुले खोलेको संस्था तमु प्ये ल्हुँ संघले सांस्कृतिक पहिचान र झाँकीसहितको सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
नाटक ‘तमाशा’अघि चितवनका युवाहरुले विशेष नृत्य पनि देखाए । मलायलम भाषाको नाटक हेर्दा पनि दर्शक एकाग्रह थिए । सआदत हसन मन्टोका कथा पढ्नेहरुलाई कलाकारको भाषा नबुझे पनि अभिनयले धेरै कुरा प्रष्ट्याएको थियो । यो नाटक मन्टोका विभिन्न ६ वटा कथालाई मिसाएर तयार गरिएको थियो । हलमा खचाखच दर्शकहरुले ‘तमासा’ सकिएसँगै निकै बेर उभिएर ताली बजाए ।
‘तमाशा’सँगै आइतबारबाट सुरु भएको नाटक महोत्सव पनि सकियो । महेत्सवमा नेपालसहित ६ देशका कलाकार आउने कुरा थियो । तर अन्तिममा लिथुवानियाका कलाकार आएनन् । लिथुवानिया र स्पेनका नाट्यकर्मीहरुले सोमबार संयुक्त रुपमा ‘अराइभ्ड’ देखाउने योजना थियो । तर स्पेनसँग मिलेर ‘अराइभ्ड’ सम्पन्न गर्ने अवसर नेपाली नाट्यकर्मीले पाए । महोत्सवको सुरुवात जापान र नेपालका कलाकारहरुको प्रस्तुति ‘कान्दता एन्ड शकुन्तला’बाट भएको थियो ।
तरङ्ग नाट्य समूह, कर्मी चौतारी र नारायणी कलामन्दिरले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् । जहाँ नेपाली नाटकका साथै सोमबार नै इरानी नाटक ‘एन्टिगोन’ पनि मञ्चन भएको थियो । काठमाडौंमा मण्डला थियटरमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव भइरहेको छ । सोही महोत्सवमा सहभागी हुन काठमाडौं आएका विदेशका नाट्यकर्मीहरु नारायणगढमा पनि नाटक लिएर आएका हुन् ।
