काभ्रे — काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १२ स्थित जरेटारमा अपाङ्गता भएका तथा एकल महिलाहरूको लागि घर निर्माण गर्न सामूहिक श्रमदान अभियान सञ्चालन गरिएको छ ।
हृयाबिट्याट फर हृयुमानिटी नेपाल र शान्ति जनआदर्श सेवा केन्द्रको संयुक्त पहलमा सुरु गरिएको यस अभियानमार्फत समाजका विपन्न वर्गका महिलाहरूलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यका साथ आवास निर्माण कार्य सुरु गरिएको हो ।
मार्च ८ मा मनाइने नारी दिवसको सर्न्दभमा मार्च महिनाभर महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । सोही अवसरमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १२ स्थित जरेटारकी ४५ वर्षीया माइली दनुवार (एकल महिला) र २८ वर्षीया चन्द्रमाया दनुवार (शारिरीक अपाङ्गता)को लागि घर बनाउनको लागि मंगलबार जनश्रमदान कार्यक्रमको आयोजना गरिएको हो ।
जनश्रमदान अभियान अन्तर्गत, हृयाबिट्याट फर हृयुमानिटी नेपाल र शान्ति जनआदर्श सेवा केन्द्रका प्रतिनिधिहरू, पाँचखाल नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय महिला, समाजसेवीहरु स्वेच्छिक रूपमा श्रमदान गर्न जुटेका हुन् । निर्माण कार्यलाई प्रभावकारी बनाउन, घर निर्माणका लागि आवश्यक सामग्री व्यवस्थापन, श्रमिकको समन्वय तथा प्राविधिक सहयोगसमेत प्रदान गरिएको छ ।
प्रत्येक घर निर्माणको लागि १० लाख बजेट इस्टिमेटेड गरिएको हृयाबिट्याट फर हृयुम्यानिटी नेपालकी कम्युनिकेशन एण्ड आउटरिच सिनियर स्पेशलिस्ट साची मुल्मीले जानकारी दिइन् । उनका अनुसार, शौचालय सहितको आवास निर्माणको लागि ७५ प्रतिशत हृयाबिट्याटको तर्फबाट र २५ प्रतिशत जनश्रमदानको लागतबाट निर्माण गरिनेछ । स्थानीयसँगै जापान, युएई, युएसए, अस्ट्रेलिया लगायतका देशका स्वयंमसेवकहरुले श्रमदान गर्ने उनले जानकारी दिइन् ।
जसअर्न्तगत मंगलबार श्रमदानबाटै जग खन्ने काम सुरु भएको छ । उनका अनुसार, जुन महिनासम्ममा दुई वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य तालिका रहेको छ । वर्षौंदेखि जस्तापाताले छाएको टहरामा बस्दै आएको र अहिले संस्थाले घर बनाइदिन लागेपछि अब सुरक्षित रुपमा घरमा बस्न पाउने भएकोमा माइली दनुवारले खुशी व्यक्त गरिन् ।
‘टहरामै जिन्दगी बित्छ लागेको थियो,’ उनले भनिन्, ‘यसरी संस्थाले घर बनाइदिएला भन्ने त सोचेकै थिएन, सपना जस्तै लाग्दैछ, आफूले बनाउन सक्ने स्थिति छैन, आम्दानीको श्रोत छैन, पैसा छैन, छाक टार्नै मुस्किल छ, कसरी घर बनाउन सक्नु र ?’ आफ्नो लागि घर बनाउन सहयोग गर्ने संस्थाप्रति उनले धन्यवाद दिँदै भनिन्, ‘हाम्रो लागि यति धेरै सहयोग गर्नुभएको छ, हामीले उहाँहरुलाई दिन सक्ने भनेको यहीँ धन्यवाद मात्रै हो ।’
अपाङ्ग चन्द्रमायासहित १० जनाको परिवार दुई कोठाको टहरामा बस्दै आएको थियो । साघुरो कोठामा दुःख कष्ट झेल्दै बस्दै आएकी चन्द्रमायालाई अब नयाँ घर बन्ने भएपछि खुशी लागेको छ । उनको शरीरको देब्रे पाखा र कम्मरभन्दा तलको भाग चल्दैन । उनी स्पष्ट बोल्न सक्दिनन् । नयाँ घर बनाउनको लागि जग खन्दै गरेको दृश्यलाई नियालिरहेकी थिइन् । ती दृश्य हेरिरहँदा उनमा नयाँ ऊर्जा देखिन्थ्यो । मुहारमा खुशी झल्किरहको थियो । ‘अब नयाँ घरमा बस्न पाइने भयो,’ खुशी हुँदै उनले भनिन्, ‘धेरै खुशी छु, घर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
अपाङ्गता भएका तथा एकल महिलाहरूको जीवनमा यस अभियानले परिवर्तन मद्दत पुग्ने हृयाबिट्याट फर हृयुम्यानिटी अष्ट्रेलियाका अन्तराष्ट्रिय कार्यक्रमका प्रमुख क्रिस्टोफर गोभर्सले बताए । उनका अनुसार स्थानीय समुदाय, संघसंस्था तथा नगरपालिकाको सहकार्यमा गरिएको यस अभियानले महिलाहरूलाई सुरक्षित र सम्मानजनक जीवनयापन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
पाँचखालका १९ अति विपन्न परिवारलाई सुरक्षित आवास
पाँचखालमा नगरपालिकाको वडा नम्बर १२ मा हृयाबिट्याट फर नेपाल र पाँचखाल नगरपालिकाको सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा अतिविपन्न परिवारमध्येका १२ जनाको लागि घर निर्माण कार्य भइरहेको छ ।
त्यस्तै,वडा नं ६ मा ३ वटा, वडा नम्बर १० मा ३ वटा र वडा नम्बर ३ मा १ वटा अति विपन्न परिवारहरुको लागि आवास निर्माण कार्य सञ्चालन भइरहेको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले जानकारी दिए । जसमध्ये १५ वटा घरको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको उनले बताए ।
उनका अनुसार, आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता जनश्रमदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । अपाङ्गता भएका र एकल महिलाहरूको मात्र नभई, विपन्न समुदायका अन्य समूहका लागि पनि सुरक्षित आवास निर्माण गरिने उनले बताए । पाँचखाल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारले वडाका अतिविपन्न परिवारको लागि सुरक्षित आवास निर्माण गरी सहयोग गरेकोमा दुवै संस्थाप्रति आभार प्रकट गरे ।
