काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिकाका किसानलाई व्यवसाय सञ्चालन गर्न ५ प्रतिशत ब्याज अनुदान प्रदान गरिने भएको छ ।
कृषि व्यवसाय सञ्चालन गर्नका लागि कृषिलाई ब्याजमा अनुदान प्रदान गर्न बेथानचोक गाउँपालिका र जिल्लास्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको हो । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी र बिन्धबासिनी सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठले बुधबार १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पालिकाले आव २०८१/०८२ देखि पालिकाका बासिन्दालाई उद्यमशिलता विकास गरी व्यावसायिक बनाउन अधिकतम ५ वर्ष अवधिको लागि प्रतिघरधुरी अधिकतम २० लाख रूपैयाँ ऋण रकम सहुलियत व्याज अनुदान ऋण प्रदान गर्ने र बिन्धबासिनी सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार, उक्त कार्यक्रमका लागि गाउँपालिकाले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ भने व्यवसाय गर्नेले ४ प्रतिशत ब्याज तिर्नु पर्नेछ ।
बेथानचोकलाई कृषिमा आत्मनिर्भर भएको पालिकाको रुपमा चिनिने र यहाँका अधिकांश नागरिक कृषिमा आबद्ध भएकाले कृषि प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार, यस कार्यक्रमले पालिकाका किसानलाई उद्यमशिलता एवं व्यावसायिक किसान बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । बेथानचोकका उद्यमीहरुलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि २०८० अनुरुप यस कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
