चितवन — भरतपुर महानगरपालिकाले सोमबारदेखि दोस्रो चरणको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष ६८ वर्षदेखि माथिका उमेर समूहका १७ हजार ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा पाएका थिए । यो वर्ष ६० देखि ६८ वर्षसम्मका करिब १२ हजार नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् ।
‘यो उमेरका व्यक्तिहरुमा नसर्ने रोगलाई लक्षित गरी ब्लड प्रेसर, ब्लड सुगर र मिर्गौलाको परीक्षण गर्ने छौं,’ भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले भने । महानगरपालिकाको २९ वटै वडामा करिब ६ सय टोलका घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उनले बताए । यसका लागि टोल विकास समितिका संस्था र महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहयोग लिने सुवेदीको भनाइ छ ।
भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ सल्लाहकार डा.भोजराज अधिकारीले गत वर्ष परीक्षण भएकामध्ये २३ प्रतिशतलाई उच्च रक्तचाप र १७ प्रतिशतलाई मधुमेहको समस्या देखिएको बताए । उच्च रक्तचापका भएका नयाँ व्यक्ति १३ प्रतिशत पत्ता लागेको डा.अधिकारीले बताए । मिर्गौला रोगको मुख्य कारणमा प्रेस,र सुगर जस्ता समस्या रहने गरेको हुँदा यस्ता समस्या सुरुमै पत्ता लागे मिर्गौला जोगिने डा.अधिकारीले बताए ।
‘हामीले परीक्षणका साथै स्वास्थ जीवन शैलीका बारेमा पनि समुदायलाई बताउने छौं । टोल टोलमा धुमपान, मद्यपानका जोखिमका बारेमा समुदायलाई बताउने छौं,’ डा.अधिकारीले भने । जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले गएको फागुनमा स्वास्थ्य कार्यालयले चितवनभरका ४ हजार ७ सय ४८ जनामा परीक्षण गर्दा सय ६७७ जनामा रक्तचापको समस्या देखिएको जानकारी दिए । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले स्वास्थ्य सेवा मार्फत स्थानीय सरकार नागरिकको घर दैलोमा जान लागेको बताए ।
