काभ्रे — मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डनमा घरैपिच्छे कटहरका रुख हुन्थे । कटहरले चण्डेनी मण्डनको पहिचान बनाएको थियो । पछिल्लो समय भने त्यो अवस्था छैन । गाउँमा रुख कटहरका बोट कमै मात्रामा भेटिन्छन् । अहिले त्यहाँका कटहरका रुखमा समस्या देखिन थालेको छ।
रुख कटहरमा लागेको रोगका बारेमा किसान अनभिज्ञ छन् । कटहरका रुखको पातदेखि हाँगा र जरासम्मै सुक्दै गएपछि जरानै कुहिएर बोट मर्ने समस्या देखिएको मण्डनदेउपुर–१० स्थित ज्वानेटारका किसान हिरा नेपालले बताए।
‘पहिले यो गाउँमा घरैपिच्छे रुखकटहर हुन्थे,’ उनले भने, ‘गाउँका ५ सय घरधुरीमा हरेकको घरमा २/३ वटा रुखकटहको बोट हुन्थे, रुखकटहर फेलेको बेलामा गाउँनै मग्मगाउँथ्यो, रुख कटहर किन्न सहरदेखि व्यापारी आउँथे, तर अहिले गाउँमा रुख कटहर भेट्न नै मुस्किल छ, के रोग लागेको हो पनि थाहा छैन, भटाभट रुख मर्दै गएका छन् ।’
उनका अनुसार धेरै किसानले रुख सुकेपछि जलाएर बाली लगाउन थालेका छन् । यो समस्या बारे कृषि ज्ञान केन्द्र र नगरपालिकामा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको किसानको गुनासो छ ।
त्यस्तै, चण्डेनी मण्डनका कृष्णप्रसाद नेपाल कटहरमा देखिएको समस्याका कारण गुजारा चलाउन गाह्रो भएको बताउँछन् । उनले बारीमा भएका ११ वटा कटहरका बोट सुक्दै, जरा कुहिएको बताए । कटहर बिक्री गरेरै वार्षिक १ देखि डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए ।
उनले भने, ‘३/४ वर्षयता रोग–किराको समस्या देखिएपछि कम फल्न थाल्यो, बिस्तारै पात, हाँगा सुक्न थाल्यो, पछि जरा कुहिएर बोटनै मर्यो ।’ रुखकटहरमा उस्तै समस्या भएका गाउँका अन्य किसानले देखाउन थालेपछि नगरपालिकाको कृषि शाखामा जानकारी गराइएको उनले बताए ।
उनका अनुसार कृषकको गुनासोलाई सम्बोधन गर्दै प्राविधिक आएर सबै जाँच गरेर गएका थिए । त्यसको कुनै जानकारी नआएको उनीहरुले बताए । गाउँभरनै अहिले रुखकटहरमा समस्या देखिएको मण्डनदेउपुर–१० का किसान सुन्दर नेपालले बताए । ७ वटा रुखकटहरका बोटमध्ये अहिले एउटा बोट मात्रै बाँकी रहेको उनले बताए ।
‘यो समस्या मैले मात्रै भोगेको होइन,’ उनले भने, ‘अहिले गाउँका सबैको किसानको समस्या यहीँ नै हो, बोट सुक्दै गएपछि कुहिने समस्या देखिएको छ ।’ मण्डनदेउपुर–७, ८, ९, १० र ११ मा रुखकटहरको खेती गरिँदै आएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । किसानले यो समस्या नगरपालिकामा जानकारी गराएपछि प्राविधिकले बोटको जाँच गरेको जिल्ला कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत रमा कार्कीले बताइन् ।
उनका अनुसार गत साउनमा बारीमै पुगेर परीक्षण गरिएको थियो । ‘के रोग लागेको हो भन्ने कुराको पहिचान गर्न नमूना संकलन गरी अनुसन्धान गर्न नार्क पठाइएको थियो,’ उनले भनिन्, ‘नार्कले बोटमा देखिएको समस्या पहिचान गरी रोकथामको उपायसहित पठाएको प्रतिवेदन नगरपालिकाको कृषि शाखालाई पठाएको थियो ।’
उनका अनुसार नार्कबाट आएको रिपोर्टमा रुखकटहरको जरामा ढुसीजन्य रोग र हाँगामा स्टिम ब्रोररको समस्या देखिएको थियो । तर, यस विषयमा आफूहरुले जानकारी नपाएको स्थानीय किसानले बताएका छन् । किसान कृष्ण नेपालका अनुसार यहाँबाट बोटको परीक्षण गरी नमूना संकलन गरेर गएपछि त्यसको रिपोर्ट र रोकथामका बारेमा केही जानकारी गराइएको छैन ।
जिल्लाबाट आएको रिपोर्ट र रोकथामका उपायका बारेमा किसानलाई जानकारी गराउन वडा कार्यालयलाई अनुरोध गरिएको नगरपालिका कृषि शाखा अधिकृत मनोज नेपालले जानकारी दिए । जिल्ला र नगरपालिकाले उक्त समस्याका बारेमा किसानलाई जानकारी गराउन भने पनि किसानले कुनै निकायबाट उक्त जानकारी नपाएको बताएका छन् ।
