बाढीपहिरोपीडित ६ महिनादेखि त्रिपालमुनि, सरकार बल्ल क्षतिको विवरण जुटाउने तयारीमा

पीडित भन्छन्- 'वर्षामा यो त्रिपालले त पानी पनि थेग्दैन, कसरी बस्ने होला ?’

चैत्र ८, २०८१

ज्योती श्रेष्ठ

Tripal has been affected by floods for 6 months, and the government is preparing to collect the details of the damage

काभ्रे — असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित खानीखोला गाउँपालिका–६ चनौटेका ४ परिवार त्रिपालमुनि बस्दै आएका छन् ।

काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा रहेको बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका चनौटेका स्थानीय प्रकाश सिंताङकोसहित ४ परिवार ६ महिनादेखि त्रिपालमा बस्दै आएका हुन् । एक स्थानीयले बस्ने बासको लागि जग्गा दिएपछि पालिकाले दिएको त्रिपाल टाँगेर बस्दै आएको उनले बताए ।

‘आफ्नो भएको जग्गा जमिन बाढीले लग्यो,’ उनले भने, ‘घर बनाउने जग्गाको नामनिसान बाँकी रहेन, जग्गा किनेर घर बनाउन सक्ने स्थिति पनि छैन ।’ उनका अनुसार त्रिपालमुनि बसेको ६ महिना बितिसक्यो । वर्षा लाग्न थालिसक्यो । वर्षामा उक्त स्थानमा पहिरोको जोखिम भएकाले त्यहाँ बस्न सुरक्षित नहुने उनले बताए । बासस्थानको व्यवस्थापनको लागि अहिलेसम्म सरकारले कुनै चासो नदेखाएकामा उनले गुनासो गरे ।

प्रभावितले ६ महिनादेखि त्रिपालमुनि बस्दै आएको बताइरहँदा सरकार बल्ल क्षतिको विवरण संकलनमा अघि सरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा असोज दोस्रो साता देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोको क्षतिको आकलन गर्ने विषयमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका प्रवक्ता डिजनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन कार्य आउँदो साताभित्र सुरु गरिने विषयमा पनि छलफल भएको थियो । तत्काल त्यसको क्षतिको विस्तृत क्षति आकलन गरेर निजी अस्थायी र स्थायी आवास बनाउने बारेमा पनि छलफल भएको उनले बताए ।Tripal has been affected by floods for 6 months, and the government is preparing to collect the details of the damage

वर्षा सुरु हुनै लाग्दा कान्छी माया स्याङताङलाई बासस्थानको चिन्ताले पिरोल्न थालेको छ । वर्षामा त्रिपालमा बस्न सक्ने अवस्था नहुने उनले बताइन् । ‘वर्षामा यो त्रिपालले त पानी पनि थेग्दैन होला, त्रिपालमुनि कसरी बस्ने होला,’ उनले भनिन्, ‘जान पनि कहाँ जानु, भएको जग्गाजमिन सबै बाढीले बगायो, जग्गा किनेर घर बनाउने पैसा छैन, केही दिनका लागि भनेर यहाँ बस्नको लागि दिइएको छ, अरुको जग्गामा सधैं बस्न पनि पाइँदैन, यहाँ पनि पहिरोको जोखिम छ, अब कहाँ र कसरी बस्ने भन्ने नै चिन्ता छ ।’ सरकारले केही गरिदिएला कि भन्ने उनको आशा छ । त्रिपालबाट अर्को सुरक्षित स्थानमा बासको बन्दोबस्त सरकारले मिलाइदिन्छ कि भन्ने उनले आशा राखेकी छिन् ।

बागमती खोला किनारमा आएको बाढीले ७ परिवार विस्थापित भएको र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उनका अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गराउन अहिले जग्गा खोजी कार्य भइरहेको छ । यस विषयलाई पालिकाले प्राथमिकतामा राखेको उनले बताए ।

वर्षा सुरु हुनुअघि नै उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउनेबारे केन्द्रीय सरकारलाई जानकारी गराइएको उनले बताए । तर, केन्द्रीय सरकारले यस विषयमा हालसम्म कुनै चासो देखाएको छैन ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully