चितवन — खैरहनी नगरपालिका–१३ ले सामुदायिक विद्यालय गवै माविमा कक्षा ११ मा अध्ययनरत २१ जना विद्यार्थीलाई ल्यापटप दिएको छ ।
वडा कार्यालयको बजेटबाट विद्यार्थीलाई ल्यापटप उपलब्ध गराएको वडाध्यक्ष कुलप्रसाद भुषालले बताए ।
वडा कार्यालयले ल्यापटप खरिदका लागि १० लाख रुपैयाँ बजेट छुट्याएकोमा टेण्डरबाट आठ लाख रुपैयाँमा ल्यापटप खरिद गरी वितरण गरेको उनको भनाइ छ ।
कक्षा ११ मा पढ्नेमध्ये १४ जना छात्रा र सातजना छात्र छन् । ‘सामुदायिक विद्यालयमा सरकारले लगानी गर्नुपर्दछ । किन कि अलि आर्थिक अवस्था कमजोर भएकाहरु नै त्यहाँ पढ्न आउने हुन् । सूचना प्रविधिको जमानामा यस विषयमा विद्यार्थीलाई कसरी अभ्यस्त गराउन सकिन्छ भन्ने सोचले वडा कार्यालयले सहयोग गरेको हो’, वडाध्यक्ष भुषालले भने ।
प्रायसँग कम्प्युटर चलाउन सक्ने आधारभूत ज्ञान भएको र नसक्ने भएमा तालिमको व्यवस्थासमेत गर्ने भुषालले बताए । गवै माविमा प्रधानाध्यापक ऋषिप्रसाद खनालले विद्यार्थीलाई गरेको लगानीको राम्रो प्रतिफल निस्कने बताए ।
वडा कार्यालयले तीन वर्षदेखि गवै माविमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र स्नातक पढ्ने वडाभित्रका १९ जना छात्रालाई जनही १० हजार पाँच सय रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।
