गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित

चैत्र ६, २०८१

ज्योती श्रेष्ठ

The fire in Gorakhnath Community Forest is uncontrolled

काभ्रे — आइतबार राती ११ बजेदेखि काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । बुधबार राति अबेरसम्म पनि डढेलो नियन्त्रणमा आउन नसकेको बेथानचोक–३ का वडाध्यक्ष कुवेर ढकालले जानकारी दिए ।

आइतबार राती गोरखनाथ सामुदायिक वनबाट फैलिएको डढेलो अहिले अन्य दुई सामुदायिक वनमा समेत फैलिइरहेको उनले बताए । बेथानचोक–३ को नारायणस्थान सामुदायिक वन र ५ नम्बर वडाको चिसापानी सामुदायिक वनमा पनि डढेलो फैलिएको हो ।

‘आइतबर रातीदेखि सोमबारसम्म भने मानव बस्तीमा डढेलोको जोखिम थियो,’ उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयको सहयोग र सहकार्यमा एन्टी फायरिङ गरेर मानव बस्तीलाई आगोको जोखिमबाट सुरक्षित गरिएको छ ।’ हर्क भञ्ज्याङ, थलीडाँडा, च्याल्टी लगायतको बस्तीमा जोखिम बढेको थियो । अहिले डढेलो बस्तीदेखि टाढा पुगेको छ ।

‘हावाहुरी चलिरहेकाले आगोलाई नियन्त्रणमा ल्याउन कठिन भएको छ,’ बेथानचोक–३ का वडाध्यक्ष ढकालले  भने, ‘यसका साथै अहिले डढेलो लागिरहेको स्थान भौगोलिक रूपमा विकट र त्यहाँसम्म सहजै पुग्न सक्ने स्थिति छैन, त्यो ठाउँ एकदमै सुख्खा र पानीको अभाव पनि भएकाले निकै कठिन भएको छ ।’

आगोलाई नियन्त्रण गर्नका लागि प्रहरी, सेना, जनप्रतिनिधिहरूले अग्नि नियन्त्रण रेखाङ्कन भने गरिरहेको उनले जानकारी दिए । पानीको व्यवस्थापन हुन सकेमा र प्राकृतिक रूपमै हुने वर्षाबाट मात्रै आगो नियन्त्रण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार हालसम्म ३ वटा सामुदायिक वनमा लागेको डढेलोबाट करिब १२ हेक्टर क्षेत्रफलमा क्षति भएको अनुमान गरिएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully