चितवनका दुई क्याम्पसमा मात्रै स्ववियुको मतदान

चैत्र ५, २०८१

रमेशकुमार पौडेल

Swaviyu voting only in two campuses of Chitwan

चितवन — त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त चितवनका १७ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठनका लागि मंगलबार मतदान हुनु पर्नेमा दुईवटामा मात्रै मतदान सुरु भएको छ । एउटा क्याम्पसमा भएको मतदान प्रति एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु (अखिल)ले विरोध जनाएको छ । चितवनमा यसअघि नै एउटा क्याम्पसमा स्ववियुको सर्वसम्मत समिति घोषणा भइसकेको छ ।

कार्य तालिका अनुसार आज टियु अन्तर्गतका तीन आंगिक र सम्बन्धन प्राप्त १४ वटा क्याम्पसमा चुनाव हुनु पर्ने थियो । तर एउटा आंगिक क्याम्पस रामपुरको चितवन इन्जिनियरिङ क्याम्पस र सम्बन्धन प्राप्त शारदानगरको सहिद स्मारक कलेजमा मात्रै मतदान भएको छ । शारदा नगरको कलेजको मतदान प्रक्रियाप्रति एमाले अखिलको क्याम्पस समिति र जिल्ला समितिले विरोध जनाउँदै विज्ञप्ती निकालेका छन् ।

‘हाम्रा उम्मेदवारहरुलाई मतदान पूर्वका कुनै पनि प्रक्रियामा सामेल नगराई मतदान अगाडि बढाएकोमा हाम्रो गम्भीर आपत्ति रहेको जानकारी गराउँछौं,’ अखिलको कलेज समितिका अध्यक्ष राकेश गुरुङले निकालेको विज्ञप्तीमा उल्लेख छ । अखिलका चितवन जिल्ला अध्यक्ष हरि आचार्यले मंगलबार निकालेको प्रेस विज्ञप्तीमा तत्काल विद्यार्थी संगठनहरुसँग छलफल गरेर मतदान पूर्वका प्रक्रिया थालनी गर्न माग गरेका छन् । 

त्ससैगरी विरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत स्ववियु गठन भएको घोषणा फागुन २७ मै भइसकेको छ । चितवनका निर्वाचन हुनु पर्ने बाँकी कलेजहरुमध्ये चारवटामा मनोनयन नै दायर भएको थिएन । ११ वटा कलेजमा विभिन्न विद्यार्थी संगठनहरुको तालाबन्दीले गर्दा मनोनयन भए पनि आज हुनुपर्ने मतदान हुन नसकेको हो । नारायणगढ, भरतपुर र रत्ननगरका पुराना र ठूला क्याम्प्स लगायतमा मतदान भएन । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully