मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका १६ बस्ने ४० वर्षका कुमबहादुर आले र भरतपुर ४ बस्ने ३२ वर्षका दीपक परियार रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ५७ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ००७१ नम्बरको ईभी गाडी चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
शंकाका आधारमा उनीहरूको शरीर खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको खैरो हेरोइन फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।
