दोलखा — रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ को टोकरपुरका दुई वटा सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित बनेको छ ।
शुक्रबार बिहानदेखि लालीगुराँस सामुदायिक वनमा सल्केको डढेलो अनियन्त्रित भएर नजिकैको अर्को छहरेछाप सामुदायिक वनमा पनि पुगेको छ ।
डढेलो नियन्त्रणमा लिन नेपाली सेनाको दोरम्बामा रहेको गुल्म, जनपद र सशस्त्र प्रहरीसहित स्थानीय प्रयास गरेपनि तीव्र हावाका कारण निभाउन कठिन भएको वडा नं–३ का अध्यक्ष सन्तलाल थापा मगरले बताए । ‘तीव्र हावाका कारण डढेलो अनियन्त्रित बनेको छ,’ उनले भने, ‘नियन्त्रणमा लिने धेरै प्रयास गर्यौं, तर डढेलो नियन्त्रणमा आएन, झन् बढेर गएको छ । डढेलोका कारण बस्तीहरु भने जोखिममा नरहेको उनले बताए । सुरक्षाकर्मीसहित डिभिजन वन र स्थानीयले डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको डिभिजन वनका रेन्जर रामकुमार श्रेष्ठले बताए ।
‘तीव्र हावाका कारण डढेलो व्यापक रुपमा फैलिएको छ,’ उनले भने, ‘भिरालो जमिनको वन भएकाले निकै कठिन छ, पानी पर्यो भने मात्रै नियन्त्रणमा आउने देखिएको छ ।’
डढेलो अनियन्त्रित भएका कारण दोलखाको शैलुङ क्षेत्र पुगेपछि मात्रै नियन्त्रणमा लिन सकिने उनले बताए । डढेलोले दुई वटा सामुदायिक वनको ६० हेक्टर भन्दा बढी वन क्षेत्र नष्ट गरिसकेको उनले बताए । यसैबीच रामेछापमै शनिबार दिउँसो गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी सामुदायिक वनका लागेको डढेलो बस्तीतिर आउने डरले स्थानीय त्रसित बनेका छन् । डढेलोका कारण ५ भन्दा बढी घर जोखिममा परेको स्थानीयले बताएका छन् । सुरक्षाकर्मीसहित स्थानीयले डढेलो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।
