दोलखा — चरण क्षेत्र राम्रो भएकाले परम्परागत रुपमा बाख्रा पाल्दै आएकी मेलुङ गाउँपालिका–३ दोभानकी यशोदा खड्काको दैनिकी फेरिएको छ । चाडवाडसहित घर खर्च भरथेग गर्न उनले बाख्रा पाल्दै आएकी हुन् । तर परम्परागत रुपमा । परम्परागत खोरमा बाख्रा पाल्दै आएकी उनले एक लाख खर्चेर आधुनिक खोर बनाएकी छन् ।
मेलुङ गाउँपालिकाले दोभानका २२ घर परिवारको मुख्य आयआर्जनको स्रोत रहेको बाख्रा पालनलाई आधुनिक खोरसहित उन्नत जातका बाख्रा पालनमा आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको उनले बताइन् । उनको खोरमा हाल १५ भन्दा बढी उन्नत जातका बाख्रा र खसीबोका छन् । गाउँपालिकाले दोभानलाई बाख्रा पालन गर्ने गाउँका रुपमा विकास गर्न हरेक घरमा आधुनिक खोर बनाउन १५ हजार र हेफर नेपालले प्राविधिक सहयोग गरेको छ ।
विगतका वर्षमा यो गाउँबाट १० देखि १५ लाख बराबरको खसीबोका निर्यात हुने गरेको थियो । आधुनिक खोरसँगै उन्नत जातका बाख्रा र बोका खरिदमा समेत पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । गएको वर्ष यशोदाले ७० हजार बराबरको खसीबोका बेचेको बताइन् । ‘खसीबोका कति महिना लागेपछि बेच्न योग्य हुन्छन् प्राविधिक ज्ञान नहुँदा राम्रो मूल्य लिन पाएका थिएनौं,’ उनले भनिन्, ‘अहिले ज्ञान भयो १० देखि १२ महिनामै खसीबोका बेच्छौं, आधुनिक खोरले बाख्रा पालनमा थप सहयोग भएको छ ।’
आधुनिक खोर बनेकाले उनले थप उन्नत जातका बाख्रा थप्ने बताइन् । चरण क्षेत्रको अभावसमेत नभएकाले स्थानीय व्यावसायिक रुपमै बाख्रा पालनमा लागेका छन् । दोभानका हरेक घरमा २० देखि ५० वटासम्म बाख्रा र खसीबोका व्यावसायिक रुपमा पाल्न थालिएको छ ।
वर्षमा हरेक घरबाट २/४ वटा खसीबोका बेच्ने दोभानका स्थानीय अबका वर्षमा ८ देखि १५ वटासम्म खसीबोका व्यावसायिक रुपमा बेच्ने तयारीमा रहेको स्थानीय कृष्ण खड्काले बताए । गएको वर्षमा प्राविधिक ज्ञान नहुँदा उमेर छिप्पिसकेपछि मात्रै खसीबोका बेच्ने गर्थ्यौं,' उनले भने, ‘अब ज्ञान भयो, समयमै १० महिना लागेपछि खसीबोका व्यवसायीलाई बेच्ने गरेका छौं ।’
गाउँपालिकाले दोभानमा जम्नुापारी र बयरक्रस बाख्रा पालनमा सहयोग गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार थोकरले बताए । ‘स्थानीयलाई गाउँमा बस्ने र रोजगारी दिने अभियान अनुसार हरेक गाउँमा फरक फरक कृषि र पशुपालनका लागि लगानी बढाएका छौं,’ उनले भने, ‘गाउँमा केही हुँदैन भनेर जानेहरुलाई समेत गाउँ फर्काउन टोल व्यावसायिक कार्यक्रम दिएका छौं ।’ मेलुङको भूगोल अनुसारको सबै तथ्यांक र सम्भावना अध्ययन गरेर फलफूल, तरकारी, आलु खेती र पशुपालनलाई मुख्य आयस्रोत बनाउन स्थानीयलाई सामूहिक लगानी गरेको उनले बताए ।
‘परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण र बजारीकरणको जिम्मा पालिकाले लिएको छ,’ उनले भने, ‘हामीले पवटीलाई सुन्तला पकेट क्षेत्र बनायौं यो वर्ष १६ करोडको सुन्तला निर्यात गर्यौं, आलु पकेट क्षेत्रबाट पनि यतिकै रकम बराबरको आलु तराई जाने अनुमान गरेका छौं ।’
दोभानलाई खसीबोका उत्पादनको हब बनाउन लागेको उनले बताए । हाल २२ घरले व्यावसायिक बाख्रा पालन गरेको उनले बताए ।
‘दोभानका ५० भन्दा बढी घर परिवारलाई व्यावसायिक बाख्रा पालनमा सहभागी गराउँदै छौं,’ उनले भने, ‘खसीबोकाको पकेट क्षेत्र विस्तार गरेर दोभानबाट मात्रै वार्षिक १ करोडको खसीबोका उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’ मेलुङ–३ कै फुर्केसल्लालाई परीक्षणका रुपमा स्याउका बिरुवा रोपिएको उनले बताए । फुर्केसल्लामा केही वर्षअघि रोपिएको स्याउ फल्न थालेकाले थप अध्ययन गरिरहेको उनले बताए ।
