हेटौंडा — मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका—७ रमनटारमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्वी नगरपालिका–५ की ३४ वर्षीया सरिता देव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय शिवकुमार चौधरी घाइते भएका छन् । शिवकुमार मृतक सरिताका पति भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार शिवकुमार चौधरीका साडुभाइ रौतहटका अजय चौधरीका छोरा ६ वर्षीय अन्श चौधरी घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ ।
मकवानपुर प्रहरीले ट्रक र चालक मनहरी–९, ज्यामिरेका ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिएको जनाएको छ ।
