चितवन — मूलथलो मुस्ताङ भएका थकाली समुदायको मुख्य पर्व हो- 'तोरन्ल' । फागु पूर्णिमाको समयमा पर्ने यस पर्वमा धनुवाण खेलेर मनोरञ्जन लिने गरिन्छ ।
'तोरन्ल'को धनुवाण खेल मंगलबार भरतपुरमा पनि देख्न पाइयो । मुस्ताङबाट बसाइँ सरेर यहाँ बस्दै आएका थकाली समुदायले तोरन्लको सन्दर्भ पारेर धनुवाण खेल प्रदर्शन गरेका हुन् । तोरन्लमा पितृ सम्झेर पूजा हुने थकाली समुदायका अगुवाहरू बताउँछन् ।
‘बिहान ३ बजे नै उठेर महिलाले नुहाइधुवाइ गरेर पितृको नाम लिँदै पूजा गरिन्छ,’ थकाली सेवा समिति भरतपुर समाजका सल्लाहकार ओम गौचनले भने । दिउँसो पुरुषहरू धनुवाण खेलेर रमाइलो गर्छन् । महिलाको पनि आफ्नै खेल हुने गौचनले बताए । तोरन्ल तीन दिन मनाइन्छ । तीन दिनमा जति धेरै रमाइलो गर्यो, मिलेर मिठो खायो, पितृ त्यति खुसी हुने र आशीर्वाद दिन्छन् भन्ने विश्वास छ ।
फागु पूर्णिमाको अघिल्लो दिनबाट तोरन्ल सुरु हुने र पूर्णिमाको भोलिपल्टसम्म रहने थकाली सेवा समिति भरतपुर समाजकी अध्यक्ष कमला गौचनले बताइन् । पहाड मुस्ताङमा हुँदा चौथो दिन पूजा गरेका सामग्री कालीगण्डकीमा सेलाउने चलन रहेको उनले सुनाइन् ।
भरतपुर महानगरपालिका र नवलपुरको गैंडाकोट क्षेत्रमा गरेर थकाली समुदायका ३७ घर छन् । ‘हामी यो क्षेत्रमा ३७ घरमा त्यस्तै १ सय जना जति छौं । मुग्लिनमा पनि ३०/३५ घर थकाली छन् । हामीले आफ्नो परम्परागत पर्व संस्कार भुलेका भने छैनौं,’ अध्यक्ष गौचनले भनिन् । सल्लाहकार गौचन तोरन्ल आफ्नो समुदायको मुख्य पर्व र नयाँ वर्षजस्तै भएको बताउँछन् । पहिला असोज–कात्तिक लागेपछि तराई झर्ने थकाली तोरन्लका लागि घर पुगेकै हुने उनले बताए ।
‘पहिला पहिला व्यापारका लागि असोज लागेपछि तराई झर्ने चलन थियो । ५० वर्षयता बसाइँ नै सरेर आउने चलन बढ्यो,’ उनले भने । चितवन आएका थकाली होटल, किराना पसल र ठेक्कापट्टा तथा अन्य व्यवसायमा लागेका छन् । फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय रंग पनि खेल्न थालिएको गौचनले बताए ।
