बागमती प्रदेश सरकारले विकास निर्माण अनुगमन गर्न कानुन बनाउने

फाल्गुन २७, २०८१

प्रताप बिष्ट

The Bagmati state government will enact laws to monitor development and construction

हेटौंडा — बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 

मन्त्रिपरिषद्‍को मंगलबारको बैठकले प्रदेशको विकास निर्माणका काम अनुगमन तथा नियमन र मूल्यांकनका लागि कानुन निर्माणका लागि सहमति दिएको हो । बैठकले प्रदेश अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री श्याम खड्काले बताए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्यांकन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।

बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने र भक्तपुर नखेल–१ को नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी मध्ये ५ रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेका कार्यालय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले बताए ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ को नेपाल सरकारको नाममा दर्ता कायम रहेको १२ रोपनीमध्ये ७ रोपनी जग्गा प्रशासनिक कार्य संचालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिए । 

बैठकले स्थानीय तहको खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि-२०८१ लाई स्वीकृत गरेको छ भने चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

प्रताप

Link copied successfully