हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धी सेवा सुरु

फाल्गुन २७, २०८१

प्रताप विष्ट

Cardiology services started at Hetaunda Hospital

हेटौंडा — हेटौंडा अस्पतालमा मंगलबार मुटु रोगसम्बन्धी सेवा सुरु गरिएको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंबाट आएका मुटुरोग विशेषज्ञ डा. विकेश श्रेष्ठले सेवाको सुरुवात गरे ।

 डा. श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाको स्वास्थ्य परीक्षण गरेर सेवाको शुभारम्भ गरेका थिए ।

'अस्पतालमा मुटुरोग सम्बन्धी उपकरणको समस्या थिएन, चिकित्सकको मात्रै अभाव थियो,' मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौडा अस्पतालमा अध्यक्ष भीमसागर गुरागाईंले भने, 'मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ आएपछि सेवा शुभारम्भ भएको छ ।' 

मंगलबादेखि नै अस्पतालमा मुटुरोगको बहिरंग सेवा, इको, इसीजी, टीएमटी, हल्टर र एबीपी सेवा सञ्चालन गरिएको छ ।Cardiology services started at Hetaunda Hospital

मुख्यमन्त्री लामाले हेटौंडा अस्पताललाई सुविधासम्पन्न चिकित्सालयको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । बागमती प्रदेशको राजधानी हेटौंडामा राखिएपछि त्यसको सबैभन्दा सकारात्मक प्रभाव हेटौंडा अस्पतालमा परेको उनको धारणा थियो ।

मुटुरोग सम्बन्धी सेवा अस्पतालमा नहुँदा यहाँका अधिकांश बिरामीहरु भरतपुर र काठमाडौंसम्म पुग्ने गरेका थिए ।अब हेटौंडावासीले उपचारका निम्ति अन्यत्र जानु नपर्ने प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बताए ।

अस्पतालमा रोटरी क्लब मकवानपुरले  एक करोड मूल्य बराबरको उपकरण एक वर्षअघि नै उपलब्ध गराएको थियो ।चिकित्सक अभावमा ती उपकरण थन्किएका थिए ।  

केही वर्षअघिसम्म ‘रेफरल अस्पताल’का रुपमा परिचित हेटौंडा अस्पताल अहिले यस क्षेत्रका बिरामीको भरपर्दो र विश्वासिलो स्वास्थ संस्था बन्दै गएको स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बताइन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने योजना रहेको बताए  । 

अस्पतालका अनुसार बहिरंग सेवामा मात्र दैनिक १५ सय देखि १७ सय बिरामी आउने गर्छन् । प्रतिष्ठान मातहत सञ्चालित अस्पतालमा अहिले ३ सय बेड सञ्चालनमा छन ।९४ जना विशेषज्ञ चिकित्सकसहित ५ सय स्वास्थ्यकर्मी कार्यरत छन् । २ सय बेड थप गर्न ५ तले भवन निर्माणाधीन छ ।

प्रताप

Link copied successfully