हेटौंडा — नुन तेल र कपडा किन्ने पैसा जाबी(झोला)ले टारेको छ । जाबी उनको एक मात्र रुपियाँ आर्जन गर्ने स्रोत हो । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–५ साचक टोलकी ५० वर्षीया झेलीमाया चेपाङ ओदालको पाटको जाबी बुन्ने गर्छिन् ।
कम्तीमा पनि साताको एउटा जाबी उनले बुनेर बिक्री गर्ने गर्छिन् । दुर्गमको गाउँको छाप्रोमा चेपाङ दम्पतीमात्र बस्ने गर्छन् । ओदालको पाटको धागो निकाल्नका लागि उनलाई पति श्यामलालले सघाउने गरेका छन् । उक्त बस्तीको जंगलमा ओदालका रुखहरु छन् ।
‘ती रुखहरुको हाँगा काटेर त्यसको पाट झिकेर तातोपानीमा पकाएर धागोजस्तो रेसा निकालेर जाबी झोला बनाउने गरिन्छ,’ स्थानीयवासी कोकिल चेपाङले भने, ‘पहिला,पहिलाका चेपाङहरु सबैले यो जाबी झोला बुन्न जानेका थिए, अहिलेकाले सिकेका नै छैनन् ।’ चेपाङहरुले पानी बोक्नेदेखि लिएर च्युरीको गेडा राख्नेसम्म पनि यही झोला प्रयोग गर्ने गर्छन् । त्यतिमात्र होइन जंगल जाँदा हँसिया, खुर्पा पनि जाबीमा राख्ने गर्छन् । सहर बजार आउँदा पनि अधिकांश चेपाङले यही झोला छड्के पारेर भिरेर आउँछन् ।
‘यो जाबी झोला चेपाङको पहिचानसँग जोडिएको छ,’ अगुवा चेपाङ गोविन्दरामले भने, ‘ओढार वा कतरे तथा पक्की घरमा बसेको होस् चेपाङ भएको स्थानमा जाबी झोला हुन्छ ।’ राक्सिराङ गाउँपालिकाको साचककी झेलीमायाले मात्र होइन उक्त पालिकाको सिलिङेकी ७१ वर्षीया झिगरीमाया चेपाङ पनि जाबी बुनेर बिक्री गर्ने गर्छिन् । विगतमा यस क्षेत्रका चेपाङहरु आफ्नो आवश्यकताका लागि मात्र जाबी बुन्ने गर्थ्ये, अहिले बेच्नका लागि पनि बुन्ने गर्छन् । एउटा जाबी पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । 'पूरै ओदालको पाटको बुनेको जाबी सात सय रुपैयाँमा बिक्री गर्ने गरेका छौं । अरु पाटको मिसाएर बनाएको जाबीको पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेका छौं,' झेलीमायाले भनिन् ।
‘एउटा झोला बुन्न सात दिनजति लाग्छ,’ उनले भनिन्, ‘अरु पैसा आउने काम छैन, यही बुनेर बिक्री गर्ने हो ।’ पहिला/पहिला यो जाबी बिक्री हुँदैनथ्यो, अहिले बिक्री हुने गरेको छ । चेपाङहरुले उत्पादन गरेका सामग्रीहरु बिक्री गर्ने उद्देश्यले लोथर बजारमा चेपाङ हस्तकला पसल राखिएको छ । त्यही पसलले चोया र बाँसका विभिन्न सामान, अम्रिसोको कुचो, जाबी बिक्री गर्ने गरेको छ । ‘गत वर्ष चेपाङले बुनेको जाबी २ हजार ५ सय थानभन्दा बढी बिक्री भएको छ,’ पसलकी सञ्चालिका फूलमाया चेपाङले भनिन्, ‘अहिले जाबी झोलाको बजार राम्रै छ । चेपाङहरुको कार्यक्रममा होस् वा अन्य जनजातिहरुको कार्यक्रममा विशेषगरी चेपाङले उत्पादन गरेका जाबी प्रयाग गर्ने गरिएको छ ।'
बिक्री भएपनि/नभएपनि चेपाङले बुनेको ओदालको जाबी होस् वा चोया र बाँसका सामानहरु पसलले खरिद गर्ने गरेकाले हातमा सीप भएका चेपाङहरुले जाबी बुन्ने गरेका छन् । ‘जाबी झोला चेपाङहरुका लागि क्रमशः थोरै भएपनि आम्दानीको स्रोत बन्दै गएको छ भने अर्कोतिर सीप पनि हस्तान्तरण हुने क्रम बढेको छ,’ स्थानीय माविकी प्रधानाध्यापक लालीमाया चेपाङले भनिन्, 'जाबी झोलाको बिक्रीले चेपाङ समुदायको आम्दानीमा थोरै भएपनि योगदान दिनुको साथै सीपको पनि जगेर्ना भएको छ ।’ जाबी बिक्री हुन थालेका कारणले गर्दा बुन्ने पाटका रुख ओदालको पनि संरक्षण हुन थालेको छ । लोथरमा रहेको पसलले चेपाङले उत्पादन गर्ने झोलामात्र होइन, अम्रिसो, नाङलो, डोको, दाम्लो, टोकरी, घूम, ढक्कीलगायतका सामानहरु खरिद गरेर बिक्री गर्ने गरेको छ ।
