हेटौंडा — मकवानपुर प्रहरीले अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका -८ को भित्री सडक खण्डमा पर्ने देवकोटबाट मनहरीतर्फ मोटरसाइलमा आउँदै गरेका मनहरी-८ का ३२ वर्षीय राजकुमार तामाङलाई २ किलो ५३० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको हो ग ६ प ४५८४ न. को मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा लेगाडमा प्लास्टिकभित्र लुकाइछिपाई ल्याएको अफिम प्रहरीले फेला पारेको थियो ।
इप्रका मनहरीका प्रहरीले देवकोटबाट राजमार्गतर्फ आउँदै गरेका सवारी साधनहरुलाई रोकेर जाँच गर्दा अफिम फेला परेको बताए । अफिमसहित प्रहरीले मोटरसाइकल र तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान गर्न प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद थप अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरमा चालु आवको ८ महिनामा ३८ केजी ४ सय ग्राम अफिमसहित ९ जना पक्राउ परेका छन् । अफिम ओसारपसार एवं कोरोबारीलाई सय ग्राम अफिमसहित पक्राउ परेका व्यक्तिलाई अदालतले १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
