चितवन — नारागणगढमा कफीमा तैरने कलात्मक बुट्टा बनाउनेहरूबीच 'चितवन लाटे आर्ट प्रतियोगिता' हुने भएको छ । फागुन २८ र २९ गते हुने प्रतिस्पर्धाका विजेताले नगद पुरस्कार पाउने छन् ।हिमालयन चिया र कफी ओक्लकले संयुक्त रूपमा प्रतियोगिता गर्न लागेका हुन् ।
आयोजकले शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरेर प्रतियोगितमा ४६ जनाले भाग लिने जानकारी गराए ।
चितवन लाटे आर्ट प्रतियोगिताको यो पाँचौं शृखला हो, जसमा पूर्व दमकदेखि पोखरा, बुटबल, भैरहवासम्मका प्रतियोगी सहभागी हुँदै छन् । ४६ जनाबाट २१ जना छनोट हुने छन् । यीबाट पनि नौ जना सेमिफाइनल राउण्डमा पुग्ने छन् । नौ जनामध्येबाट उत्कृष्ट ६ जना पुरस्कृत हुने प्रतियोगिताका संयोजक सुदीश थापाले बताए ।
६ जनामा सबैभन्दा धेरै अंक ल्याएर विजेता हुनेले नगद ६० हजार रुपैयाँ र दोस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंले ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने संयोजक थापाले जानकारी दिए । उत्कृष्ट ६ जना चैत २१, २२ र २३ गते काठमाडौंमा हुने राष्ट्रिय प्रतिस्पर्धाका लागि छनौट हुने छन् ।
'कफीको बजार विस्तार र कफी संस्कृति विकास गर्ने उद्देश्यले हामीले यस्तो प्रतिस्पर्धा गर्दै आएका छौं' संयोजक थापाले भने । प्रतियोगीका साथै कार्यक्रममा कफी उत्पादन गर्ने किसान, प्रशोधन गर्ने, कफी व्यवसायी र कफी शप चलाएका पनि भेला हुने उनले बताए ।
