मानसिक समस्या कम गर्न अभिमुखीकरण

फाल्गुन २४, २०८१

ज्योती श्रेष्ठ

Orientation to reduce mental problems

काभ्रे — ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार काभ्रेको धुलिखेलमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनिकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । 

काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं युनिर्भसिटी मेडिकल स्कुलको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

शारीरिक स्वास्थ्यसम्बन्धी समस्यामा मात्र केन्द्रित भएर उपचारको अभ्यास गरिएको तर मानसिक स्वास्थ्यसम्बन्धी समस्या ओझेलमा परेकाले यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रेकी अध्यक्ष ज्योत्सना सैंजुले बताइन् । उनका अनुसार, मानव शरीर स्वस्थ हुनका लागि शारीरिक एवं मानसिक दुवै रुपमा स्वस्थ्य हुनुपर्छ ।

‘मानिस मानसिक रुपमा स्वस्थ भयो भने मात्रै निर्णय गर्ने क्षमता वृद्धि हुन्छ,’ उनले भनिन्, ‘निर्णय तथा नेतृत्व तहमा महिलाको सहभागिता न्यून रहेकोले पनि यस्ता कार्यक्रमले महिलालाई उत्साह पैदा भई, निडर भएर आफ्नो कार्य क्षेत्रमा लाग्न मद्दत गर्दछ ।’ 

Orientation to reduce mental problems

नारी दिवसलाई दिवसमा मात्र सीमित नराखी दैनिक रुपमा व्यवहारमा उतार्न सके महिलामा हुने भेद्भावमा कमी हुने औल्याउँदै यस्ता कार्यक्रम जिल्लामा मात्रै नभएर नेपालका प्रमुख सहरहरुमा सञ्चालन गरिने उनले बताइन् । 

मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान, उपचार, खोजीनिती, न्यूनिकरणका उपायलगायतका विषयमा धुलिखेल अस्पतालका मनोविज्ञ रेबाका माकजु श्रेष्ठले प्रस्तुतिकरण दिएकी थिइन् । 

धुलिखेलका अस्पतालका डा. श्रेया श्रेष्ठ र स्नेहा श्रेष्ठले आफूले भोगेका मानसिक समस्याबारे अनुभव साटे । 

कार्यक्रममा मानसिक तनाव न्यूनिकरणका उपायबारे जानकारी दिनुका साथै मेडिटेसनसमेत गराइएको थियो ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully