काभ्रे — काभ्रेको पाँचखाल नगरपालिकामा नसर्ने रोग पहिचान गर्न स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ । पालिकाका ३० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लक्षित गरी यही फागुन १९ बाट शिविर सञ्चालन गरिएको हो ।
शिविरमा बीएमआई (बडी मास इन्डेक्स), रक्तचाप, मधुमेह, किड्नीको परीक्षण गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी दिइन् । उनका अनुसार, अहिलेसम्म वडा नं १ देखि ९ सम्म सञ्चालन गरिएको शिविरमा ११ सय ३६ जनाको परीक्षण गरिएको छ । जसमा धेरै संख्यामा मोटापनसम्बन्धी समस्या देखिएको उनले जनाए ।
‘११ सय ३६ जनाको परीक्षणमा १ सय ५५ जनामा उच्च रक्तचाप, १ सय ६३ जनामा मधुमेह, ६५ जनामा मिर्गौलासम्बन्धी रोग र ४ सय ७६ जनामा मोटोपनसम्बन्धी समस्या पहिचान भएको छ,’ उनले भनिन्, ‘शिविरमा पहिचान भएका रोगका २ सय ७९ जनाको उपचार गरिएको र ६७ जनालाई प्रेषण गरिएको छ ।’ शिविरमा नसर्ने रोग पहिचान भएकालाई परामर्श दिनुको साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
नसर्ने रोगको पहिचान गरी समयमै उपचार हुने हुँदा शिविर प्रभावकारी भएको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए ।
शिविर पाँचखालका १३ वटै वडामा सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । फागुन २८ सम्म चल्ने शिविर हालसम्म ९ वटा वडामा सम्पन्न भएको छ ।
