दिगो वन व्यवस्थापन अन्तर्गत खोरथलीमा ४० हजार ‘क्यू फिट’ काठ काटिँदै

फाल्गुन २२, २०८१

केदार शिवाकोटी

Under sustainable forest management, 40,000 cubic feet of wood is being cut in Khorthali

दोलखा — भीमेश्वर नगरपालिका–३ र ६ मा रहेको खोरथली सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम अनुसार हरेक वर्ष ४० हजार क्यू फिट काठ कटान हुने भएको छ । 

डिभिजन वन कार्यालयले खोरथलीमा पहिलो पटक दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमअनुसार खोरथलीको घना जंगलभित्रका दुई हजार रुख काटिनेछन् । उक्त काठबाट खोरथली सामुदायिक वनले यो आर्थिक वर्षमा ६० लाख रुपैयाँ आम्दानी गर्ने डिभिजन वन कार्यालयका प्रमुख कृष्णराज न्यौपानेले बताए । 

यो सामुदायिक वनको गाब्रे र पाटे सल्ला काटिनेछन् । उनका अनुसार १ सय ७३ हेक्टरमा फैलिएको खोरथलीमा ६ वटा कटान क्षेत्र तोकिएको छ । पहिलो वर्ष करिब २४ हेक्टर वन व्यवस्थापन अन्तर्गत रुखहरु कटान हुने उनले बताए । बागमती प्रदेशमै पहिलो पटक खोरथलीबाट वन व्यवस्थापन सुरु गरिएको हो । 

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अनुसार वनलाई आर्थिक पाटोसँग जोड्न दिगो वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । ‘६० वर्षसम्मको दिगो कार्य योजना बनाएर वन व्यवस्थापन सुरु गरेका छौं,’ उनले भने, ‘जस अनुसार यो वर्ष करिब १२ हेक्टर वन व्यवस्थापन हुन्छ, त्यस वापत सामुदायिक वनले ६० लाख रुपैयाँ आम्दानी गर्नेछ ।’ 

रुख काटिएका क्षेत्रमा माउ रुख राखिने छ । जसबाट अन्य साना विरुवा हुर्कने सहज हुने छ । ‘वनका बुढा र काट्न योग्य रुखहरुमा टाँचा लगाएका छौं, त्यस अनुसार रुख काटिने छ,’ उनले भने, ‘काटिएका क्षेत्रमा कतै नयाँ जातका विरुवा रोपिने छ, घना जंगल भने काटछाँट विधिबाट काटिने छ ।’

हरेक वर्ष डढेलोले सयौं हेक्टर वन सखाप हुँदा करौडौंका रुख जलेर नष्ट हुने गरेकाले दिगो व्यवस्थापन गर्न यो कार्यक्रम सुरु गरेको उनले बताए । कार्बन उत्सर्जनमा पनि नयाँ विरुवाले थप सहज हुने उनले बताए । वनमा भएका रुख काट्न पहिलाभन्दा वनले नै नमानेर जंगल व्यवस्थापन गर्न निकै गाह्रो परेको खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाले बताए । 

‘वन व्यवस्थापन र आम्दानी पनि हुने भएकाले यो कार्यक्रम लागू गर्न हामीले सहमति दिएका हौं,’ उनले भने, ‘सदरमुकाम नजिकको घना जंगल व्यवस्थापनमा चुनौती थपिँदै गएको थियो, अब भने केही सहज हुनेछ ।’ खोरथलीमा हरेक वर्ष ४० हजार क्यू फिट काठ यो कार्यक्रम अनुसार काटिने उनले बताए । 

कार्यविधिअनुसार ४० इन्चभन्दा माथिका गोलाई भएका रुखहरु काटिनेछन् । हाल १० वर्षको कार्यविधि बनाइएको छ । जिल्लाका ४ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू हुने डिभिजन वनले जनाएको छ ।

केदार

Link copied successfully