माझी समुदायले मनाए लदी पर्व 

फाल्गुन २१, २०८१

प्रताप बिष्ट

Majhi community celebrated Ladi festival

हेटौँडा — माझी समुदायको महत्त्वपूर्ण लदी पर्व मंगलबार वकैया गाउँपालिका-६ जुइनामा मनाइएको छ । वकैया खोला, सुकौरा खोला, सिमात र हर्दी खोलाको दोभान जुईना हो ।

चार वटा खोलाको दोभान भएकाले यो वर्ष जुईनाको दोभानमा लदी पर्व मनाएक नेपाल माझी उत्थान संघ केन्द्रीय समितिकी अध्यक्ष चिनिमाया माझीले बताइन् ।  

खोलालाई माझी भाषामा लदी भनिन्छ । यो चाडसँग माझी समुदायको पहिचान र संस्कार जोडिएको छ। परम्परागतरुपमा खोलाको किनारामा बसोबास गर्ने र माछा मारेर जीवन गुजारा गर्दै आएका माझी समुदायले यो पर्वमा खोलालाई पुजा गर्छन्। माझी उत्थान संघ केन्द्रीय समिति, बागमती प्रदेशका अगुवा माझी र स्थानीय माझी समुदायले यो वर्ष जुइनास्थित खोलाको किनारमा पूजाआजा गरेर लदी पर्व मनाएका हुन् ।

लदी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ जुईनामा नै उपस्थित भएर माझी समुदायहरूलाई शुभकामना व्यक्त गर्दै बागमती प्रदेशले  लदी पर्वका दिन माझी समुदायलाई सार्वजनिक विदा दिएको जानकारी गराए  । आफ्नो भाषा, सस्कृति जीवन्त राख्न सकेमात्र जातजातिको पहिचान अनन्तकालसम्म रहने मुख्यमन्त्री लामाले बताए ।

जुईना खोलाको दोभानमा स्याउलाको थान बनाएर भोग दिएर लदी पुजा मनाइएको छ । उक्त थानमा  समुदायका अगुवा मंगलबहादुर माझीले बोकाको भोग दिएर पूजाको सुरुवात गरेका थिए । कुखुराको भालेपोथी एक जोडी र  परेवाको एक जोडी काटेर पनि भोग दिइएको थियो ।

खोलाको दोभानस्थित थानमा सामुहिक रुपमा एउटा बोका, पाठी, परेवा र कुखुराको जोडी भोग दिनुको साथै घरपिच्छे एक/एक वटा कुखुराको पनि भोग दिएका थिए । दोभानस्थित थानमा भोग दिएपछि जुईनाको चौरमा एउटा राँगा काटिएको थियो ।

भोग दिएका बोका, पाठी, परेवा, कुखुरा, राँगा मासु पकाएर सामुहिक रुपमा माझी समुदायले भोज खाने गर्छन्। लदी पर्व माझी समुदायको महत्त्वपूर्ण सांस्कृतिक चाड हो । माझी समुदायको साझा संस्था माझी उत्थान संघले लदी पर्वलाई राष्ट्रिय चाडको रुपमा घोषणा गरेको उत्थान संघका महासचिव वविन्द्रलाल माझीले बताए । 

बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका दिन अर्थात् फागुन २० माझी समुदायलाई सार्वजनिक बिदा समेत दिएको  थियो । बकैया गाउँपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थियो  ।

२०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायको जनसंख्या एक लाख ११ हजार ३ सय ४२ रहेको छ । बागमती प्रदेशमा ४१ हजार ६ सय ७१ माझी समुदायको जनसंख्या रहेको छ । सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै माझी समुदायको बसोवास बागमती प्रदेशमा छ ।

प्रताप बिष्ट

Link copied successfully