हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको विस्तार हुँदै

फाल्गुन २१, २०८१

प्रताप विष्ट

Cardiology services are expanding at Hetaunda Hospital

हेटौंडा — केही वर्षअघिसम्म ‘रिफर अस्पताल’को रुपमा परिचित हेटौंडा अस्पताल अहिले यस क्षेत्रका बिरामीहरुको भरपर्दो र विश्वासिलो स्वास्थ संस्थाको रुपमा परिणत भएको छ । बहिरंग सेवामामात्र दैनिक १३ सय देखि १५ सय जनासम्म बिरामीहरुको आउने गर्छन् ।

हेटौंडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो । मुटु रोग सम्बन्धी सेवा हेटौंडा अस्पतालमा सञ्चालनमा आएपछि हेटौंडाका अधिकांश रोगका बिरामीहरु अब भरतपुर र काठमाडौं धाउन नपर्ने भएको छ ।

विगत लामो समयदेखि हेटौंडा अस्पतालमा मुटु रोगको सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा समस्या भएको थियो । अस्पतालमा मुटु रोग सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु हुँदा पनि जनशक्ति नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा सञ्चालनको गर्ने तयारीमा जुटेको बताए । 'यसै साता सेवा थप गरी उपचार कार्य अघि बढाउने तयारी गरिए पनि व्यवस्थापनको काम पूरा नहुँदा केही दिन ढिलाइ हुन गएको छ,' उनले भने, 'अब ढुक्क हुनुहोस् आगामी साताभित्र मुटु रोग बिरामीले हेटौंडा अस्पतालबाट नै गुणस्तरीय सेवा पाउँछन् ।’

टिचिङ अस्पतालबाट आएका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएलगत्तै सेवा सञ्चालनको तयारी गरिएको छ । ‘डा.श्रेष्ठ आउँदो साता परिवारसहित हेटौंडामा बस्ने गरी आउनु हुनेछ,’ हेटौंडा अस्पतालका निर्देशक डा. रामचन्द्र सापकोटाले भने, ‘हेटौंडा अस्पतालले मुटु रोगीहरुलाई छिटै नै सेवा दिने छ ।’ अस्पतालमा उपकरणको समस्या छैन, डाक्टरको मात्र समस्या थियो । अस्पतालमा उक्त सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्याका बिरामीहरु भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने रजिस्ट्रार गुरागाईंले भने । 

अस्पतालमा मुटु रोग विशेषज्ञ आउने बित्तिकै मुटुको इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानु पर्दैन । रजिस्ट्रार गुरागाईंका अनुसार हेटौंडा अस्पतालमा गत २०८० सालमा नै मुटु रोग सम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरण प्राप्त भएको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । विशेषज्ञ डाक्टरको अभावमा मुटु रोगीको परिक्षण र उपचारका लागि ल्याइएको उपकरण विगत एक वर्षदेखि अस्पतालको कोठामा थन्किएर रहेको छ । 

रोटरी क्लब मकवानपुरले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । उक्त उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गर्दै आएको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएसँगै प्रतिष्ठानले पटक पटक पहल गरेपछि संघीय सरकारले टिचिङबाट अध्यापन गरेका डा. श्रेष्ठलाई पठाएको रजिस्ट्रार गुरागाईंले बताए । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक जना चिकित्सकको आवेदन परेपनि मापदण्ड अनुकूल नहुँदा नियुक्त गरिएको थिएन । 

प्रतिष्ठानले गत फागुन १३ मा पनि एक जना मुटु रोग विशेषज्ञ नियुक्तिका लागि आवेदन माग गरेको थियो  । अस्पतालबाट तत्काल मुटु रोग सम्बन्धी ओपिडी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । दुई चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित सर्जरी लगायतका सेवा विस्तार गर्ने योजना अस्पतालको रहेको छ । अस्पतालमा निर्माणाधीन नयाँ भवन प्राप्त भएसँगै आगामी आर्थिक वर्षमा मुटु रोग सम्बन्धी सर्जरीका लागि आवश्यक उपकरण थप गरी सेवा अघि बढाउने तयारी गरिरहेको रजिस्ट्रार गुरागाईंले बताए । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालित उक्त हेटौंडा अस्पतालमा अहिले ३ सय बेड सञ्चालनमा छन् । ४५ जना विशेषज्ञ चिकित्सहित तीन स्वास्थ्यकर्मीहरु कार्यरत छन् । केही समयभित्र २ सय बेड थप गर्नका लागि अस्पताल परिसरमा ५ तले भवन निर्माणाधीन अवस्थामा छ । 'प्रदेशको राजधानी हेटौंडामा बनेपछि हेटौंडा अस्पतालले काँचुली फेरेको छ,' बुद्धिजीवि एवं समाजसेवी देवप्रसाद श्रेष्ठले भने,‘प्रदेशको राजधानी भएर हेटौंडाका अरु क्षेत्रमा खासै प्रभाव परेको छैन तर अस्पतालले दिने सेवाले फड्को मारेको छ ।'

प्रताप विष्ट

Link copied successfully