आत्मरक्षा सिक्दै शिक्षिका

फाल्गुन २१, २०८१

अनिश तिवारी

A teacher learning self-defense

सिन्धुपाल्चोक — एकान्तमा हिँड्दा होस् वा भीडमा बोल्दा । जिल्लाभर बढ्दो महिला हिंसा, दुर्व्यवहार र बलात्कारका घटना सुन्दा र पढ्दा आफूलाई पनि असुरक्षित महसुस गरिरहन्थिन्–जुगल गाउँपालिका–३ तेम्बाथाङकी फूलचरी स्याङ्बो ।

तीन दिन आत्मरक्षा कला अभ्यास गरेर पोख्त भएपछि उनी अहिले आफ्नो सुरक्षाप्रति थप सचेत बनिन् । जुगल गाउँपालिका–३ स्थित सेतीदेवी आधरभूत विद्यालयमा पढाउने स्याङ्बोले आफूले सिकेको आत्मरक्षा कला विद्यालयका बालबालिकालाई पनि सिकाउने योजना बनाएकी छन् ।

‘आत्मरक्षा कला प्रशिक्षकबाट तीन दिन सिकेँ ,त्यसयता आत्मविश्वास झनै थपिएको छ, आफ्नो सुरक्षाबारे एकदमै ढुक्क बनेको छु, आक्रमण कसरी रोक्ने भन्नबारेमा प्रष्ट जानिसकेको छु,’ आक्रमण रोक्ने दुई ‘स्टेप’ देखाउँदै उनले भनिन् । 

जुगल गाउँपालिका–४ को कालिदेवी माध्यमिक विद्यालयकी शिक्षिका रचना श्रेष्ठले आक्रमण रोक्दै उल्टै प्रहार गर्ने तरिकाको बारेमा जानेकी छन् । ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने विधिबारे पूर्ण जानकारी लिएलगत्तै खुबै उत्साही देखिएकी उनले आफ्नो अभ्यास घरमा पनि निरन्तरता दिने सोचेको बताइन् । ‘कसैले नराम्रो नियतले आक्रमण गरेमा के गर्ने ? कसरी आक्रमण नियन्त्रण गर्ने कला जानिसकेको छ,’ बिहान–बेलुकी यही कला अभ्यासरत उनले भनिन् । आक्रमण रोक्दै रक्षा गर्ने कसरत जानेपछि आफूलाई धेरै बलियो महसुस गरेको उनको अनुभव छ ।

स्याङ्बो र श्रेष्ठजस्तै जुगल गाउँपालिका–५ की लक्ष्मी लामाले आफ्नो रक्षाको लागि सेल्फ डिफेन्स जानेपछि आफै सक्षम भएको महसुस गरेको र महिला हिंसाको प्रकृतिबारे जानेको बताइन् । ‘कसरी नदेखिने गरी हिंसा हुन्छ भन्ने कुरा पनि जानेँ, अब सबै कुरालाई गहिरिएर बुझ्ने भएको छु,’ लामाले भनिन् ।

बागमती प्रदेश युवा परिषद्का स्वंयसेवक रुपक दुलालकानुसार स्याङ्बो, श्रेष्ठ र लामालेझैं जुगल गाउँपालिकाको दश विद्यालयका २० शिक्षिकालाई आत्मरक्षा तालिम दिइएको छ । तेक्वान्दो, करातेदेखि मार्सलआर्टजस्ता विभिन्न खेलका कला सिकाएर आत्मरक्षाको लागि शिक्षिकालाई तैयार गराइएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।

‘आत्मरक्षा तालिमसहित सम्पूर्ण शिक्षिकालाई अप्रत्यक्ष र प्रत्यक्ष यौन हिंसा दुर्व्यवहारबारे सचेतना परामर्श दिइएको छ,’ उनले भने । जुगल गाउँपालिकाका आर्थिक सहयोग र हलेसी इन्जिनियरिङ मल्टिप्रर्पोज प्रालिको आयोजनामा तीन दिने महिला आत्मरक्षा तालिम दिइएको हो ।

‘सामाजिक न्यायसहित समृद्ध जुगल’ भन्ने नाराकासाथ शुक्रबार उद्घाटन गरिएको आत्मरक्षा तालिम सोमबार जिल्लाको सदरमुकाम चौताराको होटल इनमा सम्पन्न गरिएको हो । जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवसहित जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सीतामाया बुलुन र पार्वर्ती पौडेलले प्रशिक्षण दिएका थिए । उनका अनुसार बढ्दो बलात्कार र यौन दुर्व्यवहारको घटनाबाट बच्नका लागि विभिन्न शारीरिक अभ्यास सिकाइएको छ । सुरुवाती चरणमा आक्रमण कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधि प्रशिक्षण दिइएको हो ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully