सिन्धुपाल्चोक — जिल्लाका सामुदायिक र अन्य वनमा बढ्दो डढेलो न्यूनिकरणका लागि अग्निरेखा निर्माण गर्दै सचेतना अभियान थालिएको छ ।
मंगलबार हरित स्वंयसेवक, वन अभियन्ता, डिभिजन वनका प्रतिनिधि सूचना अधिकृत भक्तबहादुर श्रेष्ठ र समुदायले दुई पर्यटकीय सामुदायिक वनमा अग्निरेखा निर्माण गरेर अभियान सुरु गरेका हुन् । डिभिजन वन कार्यालय चौताराबाट परिचालित हरित स्वंयसेवक शारदाप्रसाद चालिसेकाअनुसार मंगलबार समुदायको सक्रियतामा यहाँको कल्लेरी र गौरँती सामुदायिक वनमा अग्निरेखा निर्माण गरिएको हो ।
यसअघि सदरमुकामको पर्यटकीय वनक्षेत्रको रुपमा चिनिने चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित वनमा लागेको आगो हरित स्वंयसेवक टोलीले नियन्त्रणमा ल्याएको थियो । ‘अन्य वनमा पनि अग्निरेखा निर्माणस्थल सफा गरेर पहिलको अवस्थामा फर्काउने अभियान थालिएको छ, यसअघि डढेलोको घटना बढेपछि सबैतिर सचेतना व्यापक गरिएको थियो,’ उनले भने ।
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु गाउँपालिका गरी आधा दर्जन वनक्षेत्रका ८२ हेक्टर वन डढेलोले नष्ट भएको छ ।
