चितवन — यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट संकलित नमुना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन् ।
प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शव परीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख विजयकुमार श्रेष्ठका अनुसार वातावरणमा हुने ब्याक्टेरियाका कारण इकोलाई २९५, गम्बारो भाइरस १६८, सिआरडी ब्याक्टेरिया १५४, ढुसी (माइक्रोटक्सिन) ११२ र साल्मोनेला ब्याक्टेरिया ७२ वटामा देखिएको छ ।
यस्तै, एसआइटिस (पेटमा पानी जम्ने) ५९, सिसिआरडी ब्याक्टेरिया ४१, फाउल कलेरा (कुखुराको हैजा) २५, कक्सी डियोसिस (रातो छेर्ने) १९, जुका १४ र रानीखेत आठ वटामा देखिएको थियो ।
यही अवधिमा चार वटा खोरका ‘ब्रोइलर’ कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शतप्रतिशतसम्म मृत्यु हुने भएकाले जैविक सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ । रानीखेत, बर्डफ्लुजस्ता कारण शतप्रतिशत कुखुरा मर्ने गर्दछन् ।
गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमा नै सतर्कता अपनाउन कृषकहरूलाई सुझाव दिएको बताए । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन् ।
बजारमा निः संक्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ । मौसम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशैभरका कुखुरापालक कृषकले ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ । यस कार्यालयले देशैभरका पन्छीका नमुना लिएर परीक्षण गर्ने गर्दछ ।
यस वर्षको पुससम्ममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १६ जिल्लामा पालिएका पन्छीहरूको नमुना परीक्षण गरिएको उनले जानकारी दिए । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमुना चितवनका रहेका छन् ।
