‘कैलाश–बैकुण्ठ जीपलाइन’को परीक्षण

फाल्गुन १८, २०८१

प्रताप विष्ट

Testing of 'Kailash-Baikunth Zipline'

हेटौंडा — मकवानपुरको ‘कैलाश–बैकुण्ठ जीपलाइन’को शनिबार परीक्षण गरिएको छ । कैलाश गाउँपालिका–२ बैकुण्ठमा नवनिर्मित ‘कैलाश–बैकुण्ठ जीपलाइन’ को पहिलो चरणको परीक्षण गरिएको हो । पालिकाको आफ्नै बजेटबाट निर्माण गरिएको सम्भवत नेपालकै पहिलो जीपलाइन भएको पालिकाको दाबी छ ।

एक हजार दुई सय मिटर लामो जीपलाइनले कैलाश र बैकुण्ठका दुई पहाडलाई जोडेको छ । जीपलाइन सञ्चालनपछि धादिङको रोराङ, बेनीघाट, गजुरी गाउँपालिका तथा मकवानपुरका थाहा नगर, राक्सिराङ, र मनहरी गाउँपलिकाका पर्यटकहरुको गन्तव्यस्थल बन्ने अपेक्षा गरिएको छ । धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर, र मनहरी बजारबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ । जीपलाइनका परीक्षण कार्य पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) को परीक्षण गरिएको छ । 

दोस्रो चरणको परीक्षणपछि जीपलाइन पूर्णरूपमा सञ्चालनमा आउने जीपलाइन प्राविधिक एवं प्रशिक्षक वद्रीय घिमिरेले बताए । पहिलो र दोस्रो चरणका परीक्षणको कार्यहरु सम्पन्न भएपछि नयाँ वर्षसँगै जीपलाइन सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । 'जीपलाइन चढ्ने र ओर्लने स्थानमा शौचालय लगायत पूर्वाधारहरु निर्माण गर्न बाँकी रहेको छ । त्यो छिटै नै निर्माण गर्छौं,' उनले भने । 

कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थलका पहाडलाई जोड्ने गरी जीपलाइन निर्माण गरिएको छ । ८८ लाख ५६ हजार रुपैयाँको ठेक्कामा सन्ध्या निर्माण सेवाले निर्माण कार्य गरेको हो । २०८० चैत २ गते सम्झौता गरेको उक्त निर्माण कम्पनीले २०८१ फागुन ३० गतेसम्म निर्माण गरी सक्नुपर्ने समयावधि तोकिएको छ । 

दुर्गम बस्तीमा भएपनि निर्माण कम्पनीले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेको गाउँपालिकाका प्राविधिकहरुले बताए । मकवानपुर जिल्लामा मकवानपुरगढीमा निजी क्षेत्रवाट ४ वर्षअघि जीपलाइन सञ्चालन गरिएको थियो । त्यो अहिले बन्द अवस्थामा छ । जिल्लामा अन्यत्र जीपलाइन नै छैन । 

प्रताप विष्ट

Link copied successfully