लागूऔषध खैरो हिरोइनसहित २ जना पक्राउ 

फाल्गुन १८, २०८१

सुवास विडारी

2 arrested with drug brown heroin

मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका-४ घर भई हाल हेटौंडा-१ चौकीटोलमा डेरा गरी बस्ने २४ वर्षीय रुपेश घलान र मनहरी गाउँपालिका-२ घर भई चौकीटोलमै डेरा गरी बस्ने २१ वर्षीया एलिसा थिङ रहेका छन् । 

उनीहरुको साथबाट ३ ग्राम ३१० मिलीग्राम खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२-००१ ख ४१४७ नम्बरको बस जाँचको क्रममा एलिसाले लगाएको हुडीको बाहुलामा लुकाएर ल्याएको अवस्थाको ३ ग्राम ३१० मिलीग्राम खैरो हिरोइन फेला परेको उनले बताए । 

पक्राउ परेका घलान र थिङलाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमती लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully