दोलखामा हिउँदे वर्षा र हिमपात

फाल्गुन १७, २०८१

केदार शिवाकोटी

Winter rain and snow in Dolakha

दोलखा — जिल्लाका तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । लामो समयपछि शुक्रबार रातिदेखि हिउँदे वर्षा भएको हो ।

शनिबार बिहानैबाट हावाहुरीसहित तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो भेगमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै किसानले लगाएको गहुँ बालीमा केही भएपनि राहत भएको छ । माथिल्लो क्षेत्रमा आलु किसानमा खुसीयाली छाएको छ । खडेरीले तल्लो क्षेत्रमा लगाएको गहुँबाली खेतमै डढ्न थालेको थियो । माथिल्लो क्षेत्रमा रोपेका आलु उम्रन पाएका थिएनन् । 

ढिलैगरी भएपनि वर्षा भएकोमा खुसी लागेको बैत्यश्वर गाउँपालिका– ७ मार्बुका चेतबहादुर श्रेष्ठले बताए । ‘खडेरीले गहुँबाली डढेर सखाप भएको थियो, कतिमा सिन्दुरे रोग देखिएको छ,’ उनले भने, ‘पानी पर्‍यो केही हदसम्म गहुँ बाली जोगिने भएकाले खुसी लागेको छ ।’  मकै छर्न बारी खन्ने क्रम भएकाले हिउँदे वर्षाले माटो खुकुलो र डल्ला फुटाउन पनि सहज हुने उनले बताए । 

Winter rain and snow in Dolakha

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै आलु किसानमा खुसीयाली छाएको छ । सुख्खाले आलु बारीमै नउम्रेर बसेकोले हिउँदे वर्षाले केही राहत दिएको भीमेश्वर नगरपालिका–९ खरिढुंगाका जीतबहादुर श्रेष्ठले बताए । 'सुख्खा लागेर आलुको मुना पलाउनै सकेको थिएन, बारी नै खडेरीले डढेर आलु सखाप हुने डर थियो, उनले भने, ‘वर्षा भएपछि केही राहतको महसुस भएको छ, आलुका मुना पलाउन सिँचाइ पुगेर माटो खुकुलो बनाएर सहज गर्छ ।’ 

Winter rain and snow in Dolakha

जिल्लाको कालिञ्चोक लगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातसँगै यी क्षेत्रका होटल व्यवासायी समेत उत्साहित बनेका छन् । यता रोल्वालिङ क्षेत्रको पर्यटकीय गाउँ ना र बेदिङमा भारी हिमपात भएको छ । उक्त क्षेत्रमा फागुन पहिलो साताबाट निरन्तर हिमपात भइरहेको छ । निरन्तरको हिमपातले स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।

यस्तै, विगतका वर्षमा हिमपात हुने आलुको पकेट क्षेत्रले चिनिएको शैलुङ क्षेत्रमा सामान्य हिउँदे वर्षा भएको छ । हिमपात भने आइतबार मध्याह्नसम्म हुन सकेको छैन् । यस्तै, खरिढुंगा मुढे क्षेत्रमा पनि सामान्य हिउँदे वर्षा भएको छ । मौसममा बदली भइरहेकाले जिल्लाका केही क्षेत्रमा हिउँदे वर्षा र हिमपात निरन्तर भइरहेको छ ।

केदार

Link copied successfully