सिन्धुपाल्चोक — जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडापिच्छै पुगेर सहिदको सहादतलाई सम्झँदै सहिदका परिवारलाई सम्मान गर्न थालिएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ समन्वय समितिका संयोजक तथा नेता टिएन सापकोटाकाअनुसार प्रारम्भिक चरणमा बुधबार चौतारा साँगाचोकगढी नगर वडा २ र ३ का सहिद परिवारलाई सम्मान गरिएको हो ।
जनयुद्धमा सहादत पाउने सहिद र युद्धमा होमिएका कारण बेपत्ता पारिएका सम्पूर्णको सम्झना र कदर गर्दै यो अभियान थालिएको माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्यसमेत रहेका सापकोटाले बताए । ‘सहिदका कारण हालको परिवर्तन र समानता सम्भव भएको हो, त्यस कारण यो अभियान थालेका हौं, दोसल्ला ओढाएर सम्मान गर्दै चिनोस्वरुप पानी पिउने करुवा पनि उपहार दिएका छौं,’ सापकोटाले भने ।
बुधबार चौतारा साँगाचोकगढी नगर वडा २ र ३ का सहिद क्रमशः गणेशबहादुर थापा, विष्णु पराजुली, बाबुकाजी ढुंगाना, होमनाथ ढुंगाना र बेपत्ता पारिएका गेदबहादुर बस्नेतका परिवारलाई सम्मान गरिएको थियो ।
जनयुद्धका लागि बुधबार बलिदान दिवस ०८१ रहेको र यो एक हप्ताभर यसलाई सहिद सप्ताहको रुपमा मानेर नगभरीका सहिद परिवारको घरमा पुगेर सम्मान गर्ने उनले जानकारी दिए । ‘यो पावन सहिद बलिदान सप्ताह अभियान यो हप्ताभर चल्नेछ, हामी नगरभरी पुगेर सहिदलाई सम्झँदै सहिद परिवारलाई सम्मान र अभिनन्दन गर्नेछौं,’ वाइसिएल सिन्धुपाल्चोकका प्रमुख सुमित काफ्लेले भने ।
सहिद परिवारका नाममा कुविण्डेमा एउटा सामुदायिक भवन निर्माण गरिएको छ । यहाँका स्थानीयले गाउँभरका सहिदका तस्बिर संकलन गरेर भवनभित्र राखेर सम्मान गर्ने अभियान सुरु गरेका छन् । यसबाहेक जिल्लाको सदरमुकाम चौतारा बजारमा सहिद र बेपत्ताको सम्झनामा स्तम्भ ठड्याइएको छ । सहिदभूमि कुविण्डे पूर्व सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभा १ का संघीय सासद माधव सापकोटा सुवोधको गाउँ हो ।
यहाँ सहिद परिवारका आफन्त प्रेम नेपालकाअनुसार कुविण्डे गाउँभर नेपाल र सापकोटाजस्ता सहादत पाउनेका परिवार घरपिच्छै छन् । जनयुद्धमा कुविण्डेका मात्रै २१ जनाले सहादत पाएको उनले बताए । पूर्व सभामुख अग्निप्रसाद सापकोटाका परिवारका सात जना सदस्यले तत्कालीन नेकपामा आस्था राखेका कारणले मात्रै राज्य पक्षबाट ज्यान गुमाउनु परेको थियो ।
‘२१ ले सहादत पाए, भने दुई जनाको बेपत्ताको अवस्था अझै खुल्न सकेको छैन्, त्यो घटना सम्झँदा पूरानो घाउ कोट्याएझैं लाग्छ, यहाँका प्रत्येकको मन दुख्छ,’ उनले भने । ०७९ फागुन २९ मा प्रकाशित राजपत्रअनुसार सिन्धुपाल्चोकभर एकसय ८५ जना सहिद सूची सार्वजनिक गरिएको छ ।
