काभ्रेमा हत्यामा संलग्‍न एक पक्राउ

फाल्गुन १५, २०८१

ज्योती श्रेष्ठ

One arrested in connection with Kavre murder

काभ्रे — हत्यामा सलंग्न एक जना बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–४ बस्ने ३६ वर्षीय सुनिल रञ्जितकार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार फागुन १४ गते पाँचखाल नगरपालिका–३ स्थित काफ्लेटी सामुदायिक जंगलमा महिलाको मानव कंकाल फेला परेको खबर आएको थियो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा गत असोजको १५ गतेदेखि बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–११ की ३५ वर्षीया निशा लामा रहेको भनि घटनास्थलमा फेला परेको मृतकले प्रयोग गर्ने चप्पल, ब्याग र सोही ब्यागभित्र रहेको लेडिज टेलरको बिलमा समेत निशा लामा नाम उल्लेख भएकोबाट पुष्टि भएको उनले जानकारी दिए । उनका अनुसार मृतकका श्रीमान् राइफल लामाले उनको शरीरको सनाखत गरेका थिए । 

अनुसन्धानको क्रममा घटनामा संलग्न धुलिखेल नगरपालिका–४ बस्ने सुनिल रञ्जितकारले लामालाई क्रुरतापूर्वक ढुंगाले टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरी सोही ठाउँमा मृतकको लासलाई लुकाएर फरार भएको पाइएको थियो । रञ्जिकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक कुँवरले बताए ।

अदालतबाट ५ दिनको म्याद थप भइ कर्तव्य ज्यान कसूरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully