हेटौंडा — नेपाल मगर संघको ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा मगर दिवस मनाइएको छ । दिवसमा र्याली, फुड फेस्टिबल, सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मेयर मीनाकुमारी लामाले मुलुकमा लोकतन्त्र स्थापनापश्चात् सबै जातजाति र धर्मावलम्बी संगठित भएर अगाडि बढ्ने अवसर पाएको बताइन् । भाषा र संस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबै जातजातिले आफ्नो भाषा र संस्कृति जर्गेर्ना गर्न उनले आग्रह गरिन् ।
नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगरले मुलुकको परिवर्तनमा मगर समुदायले बलिदान दिँदै आएको चर्चा गर्दै भने, ‘अहिले पनि मगरहरु नीति निर्माण तहमा पुग्न सकेका छैनन् । मगर समुदायलाई विभिन्न आन्दोलनमा प्रयोग गरियो तर अवसरवाट वञ्चित गरिँदै आइयो ।'
कार्यक्रममा घाँटु ,कौरालगायत नृत्य प्रस्तुत गरिएको थियो भने मगर समुदायले खाने विभिन्न खाद्यवस्तु राखिएको थियो । मगर समुदायको पोशाकमा सजिएर आएका महिला तथा पुरुषले झाँकीसहित नगर परिक्रमा गरेका थिए ।
नेपाल मगर संघ २०३९ फागुन १५ मा स्थापना गरिएको थियो । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा मगरको जनसंख्या २० हजार ८ सय ३७ रहेको छ ।
