मौलिक ‘कौराहा’ देखाउन देवघाटमा मगर सांस्कृतिक कार्यक्रम

फाल्गुन १४, २०८१

रमेशकुमार पौडेल

Magar cultural program at Devghat to show the original 'Kauraha'

चितवन — कौडा भन्ने गरिएको मगर समुदायको परम्परागत नाँच ‘कौराहा’को मौलिकता उजागार गर्ने उद्देश्यसहित देवघाटमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

तनहुँ देवघाट गाउँपालिकाको देवघाट मगर उत्थान समाजले ४३ औं मगर स्थापनाको दिवस पारेर बिहीबार कार्यक्रम गर्न लागेको हो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको कौराहाको वास्तविक रस हराउँदै गएको हुँदा सिंगो समुदाय चिन्तित बनेको समाजका कार्यवाहक अध्यक्ष अमृता थापामगरले बताइन् । 

‘कौराहाको वास्तविक रस हराउँदै गएको हामीलाई महसुस भएको छ । सोही कारणले हामीले कौराहालाई नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न अप्रतियोगिताका रुपमा नै विभिन्न समूहको मौलिक कौराहासँगै कार्यक्रममा मौलिक भेषभूषा प्रदर्शन गर्न गइरहेका छौं,’ बुधबार देवघाटमा आयोजित पत्रकार सम्मेलनमा कावा अध्यक्ष अमृता थापा मगरले भनिन् । साथमा कार्यक्रममा राष्ट्रिय दोहरी कालाकार र स्थानीय कालकारले पनि आफ्नो कला प्रस्तुत गर्ने उनले जानकारी दिइन् । कौराहालाई मगर समुदाय कानराहा पनि भन्छन् । 

‘मगर भाषामा कान भनेको हामी र राहा भनेको आयौं हो । कानराहाको भावार्थ हामी आयौं भन्ने हुन्छ । समूहमा युवायुवती महिला पुरुष मिलेर खैंजडी र अन्य बाजाको तालमा गाउँदै नाच्ने कौराहा पहिलाको जमानामा सात दिन सात रात पनि नाँचेर सकिदैन थियो भन्ने गरिन्थ्यो,’ समाजका सदस्य आशिक रानामगरले भने । मगर समुदायमा विभिन्न याममा विभिन्न नाच नाच्ने चलन छ । फागुनदेखि भदौसम्म कौराहा नाच्ने उनले बताए । 

देवघाट गाउँपालिकाका पाँच वटा वडाका पाँच र थप एक समूह गरेर ६ समूहले कौराहा देखाउने आयोजकले जानकारी दिएका छन् । बिहीबार दिउँसो मुख्य कार्यक्रम सुरु हुनुअघि बिहान आठ बजे दासढुंगा पुलबाट कार्यक्रम स्थल नयाँ बस्ती हाटबजार प्रांगणसम्म मगर समुदायको सांस्कृतिक झाँकीसहितको र्‍याली हुने छ । परम्परागत मौलिक मगर पोशाकमा र्‍यालीमा सहभागि हुन आयोजकले अपिल गरेको छ ।

देवघाट गाउँपालिकामा मगर समुदायका ६ हजारको हाराहारीमा बसोबास गर्ने कार्यवबहाक अध्यक्ष अमृता थापा मगरले बताइन् । ‘हामी सामाजिक र सांस्कृतिक रुपमा धनी समुदाय हौं । नेपालको पश्चिम पहाडी भूगोल हाम्रो मुख्य बासस्थल भए पनि अहिले हामी देशविदेशमा छरिएर बसेका छौं । जहाँ पुगे पनि आफ्नो रहन सहन धर्म, भाषा संस्कृति भुलेका छैनौं । यधपि यसमा कमी भएको हामीले महसुस गरेका छौं,’ उनले भनिन् । गाउँ गाउँमा हुने यस्ता सांस्कतिक सभाले जागरण ल्याउने हुँदा मगर समुदायका घर घरले आर्थिक सहयोग जुटाएर कार्यक्रम गर्न लागेको उनले बताइन् । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully