प्रदेशमन्त्रीका स्वकीय सचिव रवि थापाको शंकास्पद मृत्यु

फाल्गुन १३, २०८१

सुवास विडारी

The suspicious death of Ravi Thapa, private secretary of the state minister

मकवानपुर — समस्याग्रस्त सहकारीको फाइल सिस्टमबाटै हटाउने कुराकानी बाहिरिएपछि वाग्मती प्रदेशको सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । उनले सोमबार राति गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–९ का थापा मन्त्री श्रेष्ठको स्वकीय थिए । आफू स्वकीय सचिव रहेको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा कांग्रेसको नेतासँग भएको फोन संवाद बाहिरिएपछि थापाले आत्महत्या गरेको खुलेको हो । थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार थापाले कोठामा कोही नभएको बेलामाविषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा उनको दाइ पुग्दा थापा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको र साँझ ६:३८ को समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको छ । 

पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरिएको छ । थापाले कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड केहीदिन अगाडि बाहिरिएको थियो । सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका बर्तौलालाई सोमबार बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए ।  सामाजिक सञ्जालमा भेटिएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्वसचिव बिनोद आचार्य, कांग्रेस नेता बर्तौला र मन्त्रीका स्वकीय थापाबीच कुराकानी भएको प्रहरीले जनाएको छ ।

सहकारी मन्त्री श्रेष्ठका अनुसार थापा उक्त दिन बिदामा थिए । छोरीको जन्मदिनका लागि धादिङ गएको आफूलाई बताएका थिए । 'म त त्यो दिन हेटौंडा नै थिएँ । एक अनलाइनमा भ्वाइस रेकर्ड सहितको समाचार प्रकाशन भएको रहेछ । अडियोमा रविको पनि आवाज रैछ । मैले मन्त्रालयको विषयमा नकारात्मक कुरा फैलाएको भन्दै राजु बर्तौलालाई प्रहरीको निगरानीमा लिन भनेँ । त्यसैमा उसको पनि संलग्नता रहेछ । डरले बिष सेवन गरिदियो’, मन्त्रीले भने ।

कोठामा उनले लेखेको सुसाइट नोटमा मन्त्री श्रेष्ठलाई 'सरी दाइ’ लेखेको मन्त्री श्रेष्ठले बताए । उनले आफूले गल्ती नगरे पनि फसाउन खोजेको कारण आत्महत्या गरेको भन्ने उल्लेख गरेको मन्त्री श्रेष्ठले बताए । सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिटसमेत दायर गरेर अल्पकालीन आदेश लिएको छ । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully