काभ्रेको बतासेमा बस दुर्घटना हुँदा २४ जना घाइते

फाल्गुन १३, २०८१

ज्योती श्रेष्ठ

24 people injured in a bus accident at Batase in Kavre

काभ्रे — धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ८ बजेर २० मिनेटको समयमा काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका–१० शारदा बतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आफैं अनियन्त्रित भइ सडकको नालीमा पल्टेर दुर्घटना हुँदा उक्त बसमा सवार चालक र सह–चालकसहित २४ जना घाइते भएका थिए । घाइतेमध्ये १७ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको उनले बताए । धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतेहरुमध्ये चालक र सहचालक गम्भीर घाइते रहेको र उनीहरुको टाउकोमा चोट लागेको उनले बताए । 

राजमार्गमा अहिले बाटो एकतर्फी सञ्चालन भएको छ भने बस घटनास्थलमा नै रहेको प्रहरीले जानकारी दिएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully