पेस्तोलसहित मकवानपुरमा दुई जना भारतीय पक्राउ

फाल्गुन १२, २०८१

सुवास विडारी

Two Indians arrested with pistol in Makwanpur

मकवानपुर — मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरजकुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमारलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली ३ बरामद गरेको छ । रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा अवैध हतियारसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए ।

‘हामीले विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेका हौं’, प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हेटौंडामा कसैलाई दिनेगरी ल्याएको भन्ने जानकारीमा आएको छैन ।’ 

यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए । अपराधिक क्रियाकलाप हुने स्थानमा यसअघि पनि हातहतियार किनबेच हुने गरेको प्रहरी उपरीक्षक खड्कको भनाइ छ । 

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully