भरतपुरको पहाडी भेगमा लगाइको ६ बिघा अफिम खेती प्रहरीद्वारा नष्ट

फाल्गुन १२, २०८१

रमेशकुमार पौडेल

Police destroyed 6 bigha of opium plantation planted in the hills of Bharatpur

चितवन — भरतपुर महानगरपालिकाको पहाडी भेगमा अफिम खेती गरेको पत्ता लागेपछि चितवन प्रहरीले त्यसलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीको कमाण्डमा गएको ११ जना र मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीको कमाण्डमा गएको नौजना गरी कुल २० जना प्रहरीले ६ बिघामा लगाएको अफिम खेती नष्ट गरेको चितवन प्रहरीले जनाएको छ । 

‘प्रहरी टोली माघ १० गते शनिबार पहाड उक्लेर त्यहाँ लगाएको अफिम नष्ट गरेको हो,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले भने । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने भोर्ले, गौरीगाउँ, हाडीगाउँ, डोरेनी र चौकीडाँडा क्षेत्रमा अफिम खेती फेला परेपछि फाँडेर नष्ट गरेको उनले बताए । अन्यत्र पनि खेती भए नभएका बारेमा खोजबिन भइरहेको डीएसपी खनालको भनाइ छ ।

‘अहिले देखिएको सबै खेती नष्ट गरेका छौं । अन्यत्र पनि भए नभएको खोजी रहेका छौं,’ उनले भने । सदरमुकाम भरतपुरदेखि २७ किलो मिटर उत्तर पूर्वी दिशामा पर्ने पहाडी भूभागमा यस्तो खेति भेटिएको हो । चितवनको पूर्वी क्षेत्रको विकट पहाडी गाउँमा लागूऔषध गाँजा खेती हुने गरे पनि सदरमुकाम भरतपुर नजिकै ठूलो मात्रामा अफिम खेती फेला परेको हो । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully