मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध सुनसहित हेटौंडाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको कोल्वी नगरपालिका ५ का ३३ वर्षीय जस जोशी चौधरीलाई ४३ दशमलव ३८ ग्राम सुनसहित हेटौंडाबाट पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा हेटौंडातर्फ आउँदै गरेको ना. ५ ख ५१२९ नम्बरको बसलाई चेकिङको क्रममा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस चालक चौधरीलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा ४३ दशमलव ३८ ग्राम सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेको सुनको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको छ । सुनसहित पक्राउ परेका जस जोशी चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी प्रवक्ता नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
